राजधानी मात्र होइन अहिले सिंगो मुलुक नै एमालेमय भएको छ । राजधानी काठमाडौं एमालेको नवौं महाधिवेशन स्थल हो,त्यसकारण राजधानी अहिले एमालेमय छ । हरेक सञ्चार माध्यमहरु एमालेकै समाचार,त्यसैबारेका टिकाटिप्पणी र विचारले भरिएका छन्,त्यसैले सिंगो मुलुक नै एमालेमय भएको छ । त्यसो त मुलुकका प्रमुख राजनीतिक शक्ति मध्यका एक भएकोले एमालेको हरेक महाधिवेशन उसका नेता तथा कार्यकर्ताका लागि मात्र होइन सिंगो नेपाली जनता र नेपालसँग सरोकार र चासो राख्ने सबै छिमेकी वा तेस्रो मुलुकहरुका लागि पनि महत्वको विषय बन्दै आएको छ ।

तर एमालेको यसपालीको नवौं महाधिवेशन भने मिति घोषणा भएदेखि नै विवादमा तानिएको छ । आज महाधिवेशन सुरु भएको तेस्रो दिनसम्म पनि त्यो विवाद सुल्झिन सकेको छैन । त्यसैको फलस्वरुप मनोनित १११ सदस्यको मनोनयन अझै हुन सकेको छैन । भावी नेतृत्वका लागि माधवकुमार नेपाल र केपी शर्मा ओली गुट नै बनाएर मैदानमा उत्रिएपछि पार्टीभित्रको विवाद अझ कसिलो बनेको छ ।

यस्ता विभिन्न हर्कतहरुका कारण एमाले नेतृत्वको अहिले तीव्र आलोचना भैरहेको छ,त्यो पनि पार्टी भित्रैबाट । कतिपय नेता तथा कार्यकर्ताहरुले त एमाले पार्टी बैगुनी बन्दै गएको आरोप समेत लगाएका छन् । आखिर एमाले कसरी वैगुनी बने त ?

महाधिवेशन असारमा गरेर :

असार खेतीपातीको महिना हो । मुठ्ठी रोपेर मुरी भित्र्याउँने सपनाका साथ नेपाली कृषकहरु असार महिनामा आफ्नो खेतीकर्ममै व्यस्त रहन्छन् । तर एमालेले भने यही महिनामा नवौं महाधिवेशनको आयोजना गर्यो । यसले गर्दा धेरै नेता कार्यकर्ता आफ्नो कृषिकर्मको चटारोले गर्दा महाधिवेशनमा चाहेर पनि उपस्थित हुन पाएनन् र उनीहरुका अगाडि एमाले वैगुनी सावित भए ।

कार्यकर्ता फुटाउँने गुटको राजनीति गरेर :

जारी महाधिवेशनमा पार्टीको भावी नेतृत्वका लागि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली खुलेर गुटगत राजनीतिमा लागेका छन् । दुवै गुटले एक अर्का माथि आरोप र आलोचना गरेर भए पनि आफूलाई योग्य उम्मेदवार सावित गराउँन खोजिरहेका छन् । केन्द्रमा शीर्ष नेतृत्वहरु नै यसरी गुट र फुटको राजनीतिमा लागेपछि त्यसको प्रभाव कार्यकर्तासम्म पर्नु स्वभाविक नै हो । जसले गर्दा अहिले एमाले कार्यकर्ताहरुबीच नै कुटाकुट र पानी बाराबारको स्थिति बनेको छ । त्यसैले नचाहेर पनि कार्यकर्तालाई फुटाउँने नेतृत्वका कारण ती कार्यकर्ताहरुका लागि एमाले वैगुनी बन्न पुगेको छ ।

नेताको मात्र महाधिवेशन ठानेर :

हरेक पार्टीको मेरुदण्ड भनेकै कार्यकर्ता हुन् । किनभने राजनीति भनेकै सिद्धान्त र विचारको लडाइँ लड्ने थलो हो । चाहे ती विचार र सिद्धान्तको वकालत गर्न होस् चाहे ती विचार र सिद्धान्तको अस्तित्वको रक्षाका लागि होस्,कार्यकर्ताको नितान्त खाँचो पर्छ । त्यही विचार र सिद्धान्तको वकालत गर्दा गर्दै र त्यसैका लागि लड्दा लड्दै त्यही जीवनको मार्गनिर्देशक बनिदिन्छ । त्यसैले त पार्टीका लागि आफ्नो बलिदान दिन पनि पछि पर्दैनन्–सच्चा कार्यकर्ताहरु । तर यसपटक एमालेले नवौं महाधिवेशनको उद्घाटन सत्रमा कार्यकर्ताहरुका भावना र महत्वलाई चटक्कै भुले । एमाले पार्टी नै केही मुठ्ठीभरका नेता र पहुँचवालाहरुको मात्र हो भन्ने सम्झेर बन्द कोठाभित्र बसेर उद्घाटन कार्यक्रम राखे । यसले नेता तथा कार्यकर्ताहरुले आफूहरु अपमानित भएको बोध गरेर र अचानक ती विष्फोट पनि भए । त्यसैले आफ्नै कार्यकर्ताहरुको भावना बुझ्न नसक्ने पार्टीलाई वैगुनीको उपमा भन्दा अरु सुहाउँदैन भन्नेहरु पनि धेरै छन् ।

यसरी आफ्नै नेता तथा कार्यकर्ताको विश्वास र आस्था गुमाउँदै गएको एमालेले अब भावी नेतृत्व कसको हातमा सुम्पिन्छ,त्यसले अझ बढी महत्वपूर्ण भूमिका खेल्नेछ । किन भने संयोजन क्षमतायुक्त नेतृत्व आए भैपरी आएका छुटफुटलाई जोडेर लैजान जति सजिलो होला,शीर्ष नेतृत्वहरुबीच नै तुष र रोष जारी रहे त्यसले देखाउँने अल्पकालीन र दीर्घकालीन असर मेटाउँन फलामको च्यूरा चपाउँनुभन्दा पनि कठिन हुने विश्लेषकहरुको चेतावनी छ । ( तस्विर: कान्तिपुर)

Comments