काठमाडौँ । यसवर्षको प्रवेशिका एसएलसी परीक्षाको नतिजा भोलि शुक्रवार सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा शुक्रवार सार्वजनिक गर्ने गरी तयारी गरिरहेको जनाएको छ । यसका लागि परीक्षा बोर्डको वैठक शुक्रवारनै बस्दैछ । परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले शुक्रवार नै नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको बताउँदै शुक्रवार नसकिए ढिलोमा शनिबारसम्ममा नतिजा सार्वजनिक गरिने बताउँनुभयो । अहिले सानोठिमीस्थित कार्यालय परिसरमा एक सातादेखि निरन्तर नतिजा प्रकाशनसम्बन्धी काम गरिरहेको छ । नतिजासम्बन्धी गोप्य काम गर्नुपर्ने हुनाले सर्वसाधारणलाई कार्यालयको मूलगेटबाट भित्र जान दिइएको छैन ।

यस वर्षको एसएलसीमा नियमित तथा आंशिक गरेर पाँच लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र आंशिकतर्फ एक लाख ४५ हजार एक सय ८३ जना सहभागी थिए । नियमिततर्फ छात्राको संख्या दुई लाख १३ हजार सात सय १० र छात्रको संख्या दुई लाख १२ हजार पाँच सय चारजना थियो। आंशिकतर्फ छात्र ५१ हजार दुई सय ५३ र छात्राको संख्या ८५ हजार नौ सय ३० थियो। परीक्षा चैत २ गते सुरु भएको थियो। यो वर्षदेखि विद्यालय तहमा प्राविधिक धार पढेका विद्यार्थीका लागि छुट्टै परीक्षा सञ्चालन गरिएको थियो।

प्राविधिक धारतर्फ तीन हजार दुई सय ५० जना परीक्षार्थी सहभागी थिए । यस्ता परीक्षार्थीको नतिजा भने सामान्य धारका परीक्षार्थीको भन्दा एक साता ढिलो हुने पनिकाले जनाएको छ ।

प्राविधिक धारका परीक्षार्थीको नतिजा ग्रेडिङमा सार्वजनिक गर्ने पनिकाले जनाएको छ ।

Please follow and like us:

Comments