प्रधानमन्त्री सुशील कोइराला अमेरिका जानु भएपछि कार्यबाहक प्रधानमन्त्री बन्नुभएका वामदेव गौतमले आजबाट सो जिम्मेवारीबाट मुक्ति पाउँदै हुनुहुन्छ । प्रधानमन्त्री कोइराला आज फर्कने भएपछि उहाँले मुक्ति पाउन लाग्नुभएको हो ।तर गौतमको भागमा कार्यबाहक मात्र लेखिए झैँ आजैबाट उहाँले अर्को कार्यबाहकको जिम्मेवारी सम्हाल्नु पर्ने भएको छ ।

आज एमाले अध्यक्ष केपी ओली उपचारका लागि थाईल्याण्ड जानुपर्ने भएपछि उपाध्यक्ष गौतमको काँधमा फेरी कार्यबाहक पार्टी अध्यक्षको जिम्मेवारी आइपरेको हो । हातको संक्रमणबारे चिकित्सकहरुसँग आवश्यक परामर्श गर्न एमाले अध्यक्ष ओली आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्न लाग्नुभएको हो । उहाँको शरीरका अन्य समस्या क्रमशः हल भइरहेको, तर हातको संक्रमण बढिरहेको सन्दर्भमा चिकित्सकहरुसँग आवश्यक परामर्श तथा उपचारका लागि त्यसतर्फ जान लाग्नुभएको उहाँको निजी सचिवलायले सहयात्रीलाई बताएको छ । उहाँ आगामी २५ साउनमा शुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठक अगावै देश फर्किसक्नुहुने सचिवालयले जनाएको छ ।

महाधिवेशनको धपेडीका क्रममा उहाँको हातमा केही अस्वाभाविक संक्रमण देखिएको र सामान्य उपचारपछि समस्या हल हुने नेपालस्थित उहाँका स्वास्थ्य सहयोगीहरुले बताएका छन् । उहाँको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष गौतमले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्न लाग्नुभएको ओलीको सचिवालयले जनाएको छ ।

Comments