काठमाडौं । मधेसी मोर्चाका माग सम्बोधन गर्न नेपालले गरेको संविधान संशोधनको चीनले स्वागत गरेको छ ।

नेपालमा पछिल्लो समयमा देखिएको समस्या वार्ता र संवादबाटै समाधान गर्नका लागि नेपालका राजनीतिक दल र सरकारले गरेको पहलको चीनले स्वागत गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलमा मन्त्रालयकी प्रवक्ता हुवा चुनिइङले आफूहरुले नेपालको समस्याबारे नजिकबाट नियालिरहेको बताएकी हुन् ।

पत्रकार सम्मेलनमा उनलाई नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रश्न सोधिएको थियो । जवाफमा उनले नेपालले आफ्नो समस्या वार्ता र संवादको माध्यमबाट समाधान भएको हेर्न चाहेको बताइन् ।

उनले नेपाली जनताको हितलाई केन्द्रा राखेर सबै समस्याको हल गरी नेपाल शान्ति, स्थायित्व, पुननिर्माण र विकासको बाटोमा अघि बढ्ने विश्वास चीनको रहेको बताइन् ।

मधेसी मोर्चाका माग सम्बोधन गर्नका लागि केही दिनअघिमात्रै नेपालको संविधान ०७२ मा पहिलो संशोधन गरिएको थियो ।

Comments