मेलबर्न । उपभोक्ताको अधिकारमाथि हनन गरेको भन्दै अष्ट्रेलियामा उलवर्थमाथि कारवाही गरिएको छ । उलवर्थले बेचेको डिप फ्राई गर्ने भाँडो, ड्रेन क्लिनर र अरु केही सामानमा पर्याप्त सुरक्षाको प्रबन्ध नगरेको भन्दै अष्ट्रेलियन क्षतिपूर्ति तथा उपभोक्ता आयोगले धेरै जरिवाना तिराउने निर्णय गरेको हो ।

शुक्रबार भएको आदेशमा ३० लाख ५७ हजार तिर्नुपर्ने फैसला सुनाएको हो । उलवर्थको होमब्राण्ड अन्तर्गत एबोडी थ्रीएल स्टील डिप फ्रायरको समाउने ह्याण्डलमा समस्या देखिएको थियो । जसले गर्दा तातो तेल रहेको भाँडो चिप्लिएर भुईमा खस्दा धेरैजनाको खुट्टामा पोलेको थियो । यस्तै ड्रेन क्लिनरमा बच्चाहरुबाट सुरक्षित राख्न विशेष व्यवस्था गरेको लेखिएपनि त्यस्तो कुनै काम नभएको पाएको आयोगले जनाएको छ ।

जसका कारण एक बालकसहित अन्य तीन जना घाइते भएका थिए । अर्कोतर्फ, केही उपभोक्ताले उलवर्थमा किनिएको कुर्सीमा २५ किलो वजन भएको मानिस चढ्दा नै त्यो भाँचिएको आरोप लगाएका छन् । यसमा पनि २५ किलोभन्दा बढी नै तौल भएको व्यक्ति बस्न मिल्ने बताइएको थियो । उपभोक्ताको अधिकारमाथिको खेलवाड कुनै पनि हालतमा स्वीकार्य नहुने सन्दे दिन पनि यो कारवाही आवश्यक रहेको आयोगका उपाध्यक्ष डेलिया रिकार्डले बताईन् । उपभोक्ताको सुरक्षा सबैको प्राथमिकताको विषय हुनुपर्नेमा उनको जोड छ ।

उलवर्थले उपभोक्ताबाट गुनासो आएका सबै सामान बजारबाट उठाइसकेको छ भने आगामी वर्षमा २० लाख डलरभन्दा बढी उपभोक्ता सुरक्षाको क्षेत्रमा खर्च गर्ने योजना समेत बनाएको छ । एक विज्ञप्ति मार्फत उलवर्थले उपभोक्ताको सुरक्षालाई गम्भीरतापूर्वक लिइएको जनाएको हो ।

Comments