काठमाडौं । भारतमा जारी १२ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको दोश्रो दिन शनिबार नेपालले तीन पदक जिच्दै पदकको खाता खोलेको छ ।

भारोत्तोलनले नेपाललाई एक रजत र एक काँस्य पदक दिलाएको छ । भारोत्तोलक विकास थापाले नेपाललाई रजत दिलाउदा देवी चौधरीले काँस्य पदल दिलाएकी छिन् । यस्तै नेपाललाई कुस्तीमा सरोज यादव पनि काँस्य पदक दिलाएका छन् । नेपालको लागि पहिलो पदक दिलाउने क्रममा महिला भारोत्तोलन तर्फ देवी चौधरीले ५३ केजी तौल समुहमा कास्य पदक जितेकी हुन् । चौधरीले स्न्याचमा ५४ र क्लिन एण्ड जर्कमा ७५ केजी भार उठाएर कुल एक सय २९ केजीमा कास्य पदक सम्भव बनाएकी हुन् । सप्तरी जिल्लाकी बासिन्दा चौधरी नेपाल प्रहरीमा कार्यरत छिन् । भारोत्तोलन नेपाललाई अहिले सम्म सबै भन्दा बढी पदक दिलाउने खेल हो । भारोत्तोलनमा अहिले सम्म नेपालले १ स्वर्ण ,२२ रजत र ८५ काश्य पदक प्राप्त गरेता पनि कुनै पनि महिला खेलाडीले पदक प्राप्त गरेको पहिलो पटक हो ।

चौधरी बिगत ८ बषै देखि भारोत्तोलन खेलमा संलग्न छिन् । पाच खेलाडी सहभागी भएको सो खेलमा देबीले पाकिस्तान र बङगलादेशका प्रतिष्पर्धीलाई पछि पारेकी थिइन । शनिबारनै पुरुषतर्फ विकास थापाले रजत पदक जित्दै नेपालललाई दोस्रो पदक दिलाएका छन् । उनले नेपालका लागि ६२ किलो तौल समूहमा २४२ किलो भार उठाउँदै रजत पदक दिलाएका हुन् । उनको यो साग खेलकुदमा व्यक्तिगतरुपमा पहिलो पदक हो भने यो सागमा नेपालको पहिलो रजत पनि हो ।

त्यस्तै पुरुष कुस्तीको ५७ केजी तौल समूहमा यादवले नेपाललाई काँस्य पदक थपेका छन् । यता पौडीमा शनिबार भएका पहिलो दिनको खेलमा  सोफिया शाह र गौरीका सिहले राष्ट्रि«य कीर्तिमानमा सुधार गर्दै फाईनलमा पुगेका छन् । पौडीमा सोफिया शाहले दुई सय मिटर फ्रिस्टाईलमा एक मिनेट १३ दशमलव एक आठ सेकेन्डमा गौरिकाले बनाएको कीर्तिमान तोडिकी हुन् भने गौरीकाले एक सय बटरफ्लाई एक मिनेट १० दशमलव नौ सेकेन्डमा पुरा गर्दै आफनौ नाममा रहेको कीर्तिमान सुधार गरिन् ।

शनिबारनै भएको पौडीको पुरुषतर्फ शिरिष गुरुङ दुई सय मिटर फ्रिस्टाईलमा २ मिनेट नौ सेकेण्डमा पुरा गर्दै फाईनलमा पुगेका छन् । कुल ३८ स्वर्ण पदक रहेको स्पर्धामा गौरीकाले १३, सोफियाले ८ र शिरीषले १२ स्पर्धामा प्रतिष्पर्धा गदैछन् ।

Comments