काठमाडौँ । भारत र नेपालको सैनिक तथा कूटनीतिक स्रोतहरूले बताएअनुसार मंसिरदेखि नेपाली सेनाको युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापाको नेतृत्वमा गोप्य सैनिक टोली दिल्ली बसेको थियो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीका विश्वासपात्र थापाको नेतृत्वमा सेनाका एकजना महासेनानी र प्रमुख सेनानी पनि थिए । थापाको करिब दुई साता लामो गोप्य भारत बसाइमा महत्त्वपूर्ण भेटवार्ता भयो । उनीहरूको दिल्ली मिसनबारे राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री भीम रावल र अर्थमन्त्री विष्णु पौडेल जानकार थिए ।

प्रधानसेनापतिले गृहकार्य गर्न लगाएर कन्फिडेन्सियल भ्रमण गराएका थिए । सेनाको विशेष मिसन तिहारलगत्तै दिल्ली गएर बसेको थियो । सैन्य स्रोतका अनुसार नाकाबन्दी भएदेखि नै सेनाले तराईको परिस्थितिबारे सूक्ष्म अध्ययन गरिरहेको थियो ।

सेनाको बुझाइमा तराईको आन्दोलन राजनीतिक, ल एन्ड अर्डर, राष्ट्रिय सुरक्षा र भारतसँगको कूटनीतिक गरी चार तरिकाबाट समाधान हुन्थ्यो । सेनाले तराईलाई नै केन्द्रमा राखेर गरेको अध्ययनमा नाकाबन्दीले नेपाल र भारतबीच चार विषयमा दीर्घकालीन प्रभाव पार्न सक्ने निष्कर्ष निकालिएको थियो ।

सुरक्षा र सामरिक प्रभाव, नेपाल–भारत सम्बन्धको कूटनीतिक प्रभाव, आर्थिक प्रभाव र सामाजिक प्रभाव पर्ने सेनाको विश्लेषण थियो । दिल्ली पुगेको सैन्य टोलीले आफ्नो विस्तृत अध्ययन विवरणसहित भारतीय सैनिक नेतृत्वसँग पटक–पटक छलफल गरेको थियो ।

प्रधानसेनापतिको तर्फबाट नेपाली सेनाका उपरथी थापाले भारतका गृहमन्त्री राजनाथ सिंह, रक्षामन्त्री मनोहर परिकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय सेनाका स्थल सेनाध्यक्ष दलवीर सिंहसँग प्रत्यक्ष–परोक्ष कुराकानी गरेपछि परिस्थिति बदलिएको थियो ।

Comments