काठमाडौं । उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनाली पत्नी निलम खड्का सहित अमेरिकामा हुने एउटा कार्यक्रममा सहभागी हुन जाने तयारीमा रहनुभएको छ ।

उपप्रधानमन्त्री मैनाली नजाँदा पनि हुने कार्यक्रममा सरकारी खर्चमा पत्नी निलम खड्कासमेतको एउटा ठूलो टोली नै लिएर अमेरिका जाने तयारीमा रहनुभएको हो ।

महिलाको अवस्थाका बारेमा राष्ट्रसंघीय ६० औँ सेसनमा भाग लिनका लागि उहाँ त्यसतर्फ जान लागेको मन्त्रालय स्रोतले जनाएको छ । मैनालीकै मन्त्रालय स्रोतका अनुसार यस खालको कार्यक्रममा न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधिले नै भाग लिए पनि पर्याप्त हुन्छ । यसो गरिएमा सरकारको खर्च समेत जोगिन्छ ।

तर मन्त्री मैनाली पत्नी खड्का तथा स्वकिय सचिवसहित १६ जनाको टोलीलाई मन्त्रिपरिषदबाट पास गराएर लैजाने योजना रहनुभएको छ । अझ अन्य केही पनि थपिने सूचीमा रहेको मन्त्रालय स्रोतले बताएको छ ।

उपप्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका ५ जनाको खर्च सरकारले व्यहोर्ने र बाँकी आफ्नै खर्चमा जाने जनाइएको छ ।

Comments