काठमाडौं । अमेरिकी देश पानामाको मोसाक फोन्सेक कानूनी फर्मबाट चुहावट भएको कागजातमा नेपालसँग सम्बन्धित व्यक्ति वा संघसंस्था पनि जोडिएको हुन सक्ने खबर सार्वजनिक भएपछि सरकारले यसबारे अनुसन्धान गर्दैछ ।

गैरकानूनी रुपमा आर्जन भएको सम्पत्ति नेपालमा पनि लगानी भएको वा राखिएको आशंकामा अनुसन्धान हुन लागिएको हो । यसबारे बुधबार सम्पत्ति शुद्धिकरण विभागले बैठक डाकेको छ । बैठकमा नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक र राजस्व अनुसन्धान विभागका प्रतिनिधिलाई डाकिएको विभागले जनाएको छ । बैठक दिउँसो १२ बजे विभागमा बस्नेछ । बैठकले सार्वजनिक भएको सूचना कतिको सत्य र तथ्यमा आधारित छ भन्ने बारेमा छलफल गर्ने तथा छानबिनका लागि आगामी रणनीति तय गर्ने विभागका महानिर्देशक दामोदर रेग्मीले बताउनुभयो ।

गएको आइतबार कागजात चुहावट भएपछि विभिन्न देशका उच्चपदस्त राजनीतिक तथा कूटनीतिक व्यक्तित्व र कम्पनी कर छली तथा अवैध सम्पत्ति लुकाउनेको सूचीमा रहेको खुलेको छ ।

Comments