काठमाडौँ । भारतको बिहार सरकारले रक्सी खान पूर्णत रोक लगाएपछि भारतीयको सीमावर्ती बजारमा भीड बढेको छ। राज्य सरकारले मदिरा किनबेच र प्रयोगमा समेत पूर्णत रोक सेवन गर्ने नेपाली बजारमा आर्कषित भएका हुन्।

विराटनगरको रानी, मोरङको रंगेली, बुधनगर, झापाको कुखरखोद, काकडभिट्टा, भद्रपुर, केचना र सुनसरीको देवानगञ्ज जस्ता सीमाका नेपाली बजारमा रक्सी सेवन गर्न आउने भारतीयको निकै चहल पहल बढेको छ।

बिहारका मुख्य बजारमा त्यहाँको सरकारले ठूलाठूला होर्डिङ बोर्ड राखी जनचेतना फैलाउँदै रक्सी सेवन गरे कार्वाही हुने सन्देश दिन सुरु गरिसकेको छ। माइकिङ गर्ने र पर्चा छर्ने कामसमेत भएको छ। विराटनगर सीमाको मुख्य बजार जोगबनीमा पनि रक्सी किनबेच र सेवनलाई निकै कडाईका साथ निगरानी गर्दै प्रतिबन्ध लगाइएको छ।

अहिले नेपाली सुरक्षा अधिकारी समक्ष भारतीय समकक्षीले बिहार सरकारको अभियानलाई सार्थक बनाउन सहयोग गर्न अपिल गर्न थालेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए ।

नेपाल र भारतबीचको खुल्ला सीमाका कारण भारतबाट मुख्य नाका बाहेक अन्य बाटोबाट समेत अचेल बिहारका मानिसहरु विशेषगरी घरेलु मदिरा पिउन नेपाली सीमावर्ती क्षेत्रमा आउने गरेका छन्।

Comments