काठमाडौं । संसद्मा दुई सय सात सांसद रहेको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका लागि सहजै बहुमत पुग्ने देखिएको छ ।

कांग्रेसको दुई सय सात र माओवादीको ८२ जोड्दा दुई सय ८९ सांसद हुन्छ । प्रधानमन्त्री चुनिन अहिले संसद्मा कायम भएका पाँच सय ९४ सांसदको बहुमत अर्थात् २९८ मत आवश्यक पर्छ । यसका लागि १० सांसद अपुग हुन्छ । संघीय समाजवादी फोरम १५, फोरम लोकतान्त्रिक १४, राष्ट्रिय प्रजातन्त्र पार्टी १२ र तराई मधेस लोकतान्त्रिक पार्टीका ११ सांसद छन् । ती दलले प्रचण्डलाई भोट दिने घोषणा गरिसकेका छन् ।

यीबाहेक तीन सिटको नेकपा संयुक्त, ६ सिटको सद्भावना पार्टी, तीन–तीन सिट भएका तमसपा र रामसपा, दुई सिटको थरुहट तराई पार्टी नेपाल र एक–एक सिट भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, समाजवादी जनता पार्टी, नेपाल जनता दल, फोरम गणतान्त्रिक, नेपाः राष्ट्रिय पार्टी र नेपाल सद्भावना पार्टीले पनि प्रचण्डलाई मत दिने घोषणा गरिसकेका छन् । यसअघि संविधानमा असन्तुष्टि जनाउँदै आएका मधेसी मोर्चामा आबद्ध दलहरू संघीय समाजवादी फोरम, तमलोपा, सद्भावनासहितका पार्टीले पनि प्रचण्डलाई भोट हाल्ने भएका हुन् ।

राष्ट्रपति विद्या भण्डारीले सोमबार बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि आह्वान गरेपछि सभामुखले संसद्का महासचिवलाई अधिकृत तोकी प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिनेछिन् । तीन दिनभित्र नयाँ प्रधानमन्त्री छानिने गरी निर्वाचन तालिका बनाइने सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।
सोमबार राष्ट्रपतिबाट बहुमतीय प्रक्रिया सुरु गर्न पत्र आए सोमबारबाटै तीन दिनभित्र प्रधानमन्त्री चयन गर्नेगरी संसद् सचिवालयले निर्वाचन तालिका सार्वजनिक गर्ने शर्माले बताउँनुभयो ।

सोमबार पत्र आएपछि दिउँसो ३ बजे बस्ने संसद्को पहिलो बैठकले पूर्वसांसद हरि खेवाको निधनमा शोक प्रस्ताव पारित गर्ने र दोस्रो बैठकमा सभामुखले प्रधानमन्त्रीको निर्वाचन गर्न संसद् सचिवालयका महासचिवलाई निर्वाचत अधिकृत तोक्नुहुनेछ । यसरी सोमबार नै प्रक्रिया सुरु भए १९ साउनमा मुलुकले नयाँ प्रधानमन्त्री पाउँनेछ ।

Comments