मेलबर्न । नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभ क्रिकेट टिम मेलबर्नमा जारी मेलबर्न रेनेगेड्स च्याम्पियनसीप लिग २०१६ को सेमीफाइनलमा प्रवेश गरेको छ ।

आइतवार भएको लिग चरणको अन्तिम खेलमा वयेरेबी लायन्सलाई चौबिस रनले पाखा लगाउँदै न्याभले प्रतिष्ठित प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो । अर्को चरणमा प्रवेश पाउन न्याभलाई आइतवारको खेल जित्नैपर्ने दबाब थियो । ट्वान्टी ट्वान्टी फम्र्याटको खेलमा न्याभका लागि रोशन पौडेल र सजेन्द्र श्रेष्ठले समान ३–३ विकेट लिए । विकेश श्रेष्ठ एक्लैले ४६ रन बनाएको न्याभले पहिले ब्याटिङ रोजेर १६७ रनको चुनौति दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रेको साविक विजेता वयेरेबी लायन्सले मात्र १५० रनमा सीमित रहेपछि न्याभको सेमिफाइनलमा स्थान पक्का भएको हो ।

न्याभले एकीकृत क्रिकेट अवधारणा अनुसार मेलबर्नमा सक्रिय नेपाली क्लबहरुका खेलाडीहरुलाई लिएर नेपाली समुदायको साझा क्लब निर्माण गरेको हो । मेलबर्न रेनेगेड्स च्याम्पियनसीप लिग यहाँको प्रतिष्ठित बहुसांस्कृतिक क्रिकेट प्रतियोगिता हो ।

न्याभले अब आगामी डिसेम्वर ११ मा हुने सेमिफाइनल खेलमा फतेह क्रिकेट क्लबको सामना गर्नेछ ।

तारा गैरेको संयोजनमा रहेको न्याभ टिमको कोचमा हुसेन हनिफ रहेका छन् । सुनाम गौतमकोले कप्तानी सम्हालेको न्याभ टिममा रोशन पौडेल उपकप्तान छन् । यस्तै खेलाडीहरुमा सुुसन गुरुङ,सुमनसिंह ,आकाश सिंह,केशव पन्त,भुषण श्रेष्ठ,विकेश श्रेष्ठ,सुरज थापा,किशोर कँडेल,कुशल तरलाधार,सजेन्द्र श्रेष्ठ,अनिल खनाल,अतुल्य रावल र आशिष दाहाल छन् । उनीहरु सबै मेलबर्नका विभिन्न नेपाली क्लबहरुसँग आवद्द खेलाडी हुन् ।

न्याभ टिमलाई अष्ट्रेलियाको मूलधारको टिमका रुपमा स्थापित गराउन क्रियाशील भएर लागेको छ ।

Comments