काठमाडौं । नेपाली उद्यमी विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा १५६७ औं स्थानमा परेका छन् । अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको २०१७ का विश्वका अर्बपतिको सूचीमा उनी अघिल्लो वर्षभन्दा १० स्थान माथि उक्लिएका हुन् ।

अघिल्लो वर्ष उनी एक अर्ब १० करोड डलर सम्पत्तिसहित १५७७ औं स्थानमा थिए । एक वर्षमा २० अर्ब रुपैयाँ थपिएर अहिले उनको सम्पत्ति १.३ बिलियन अमेरिकी डलर (एक खर्ब ३० अर्ब रुपैयाँ) पुगेको छ । नेपालबाट अर्बपतिको सूचीमा पर्ने चौधरी एकमात्र व्यवसायी हुन् ।

उनको बैंक, फुड, इलेक्ट्रोनिक, बियर, होटेल, सिमेन्ट, हाइड्रो, शिक्षा लगायतका क्षेत्रमा लगानी छ । उनको नबिल बैंकबाटै वर्षमा डेढ अर्बभन्दा बढी रुपैयाँ आम्दानी हुन्छ ।

चौधरीले सबैभन्दा बढी सफलता पाएको वाइवाइ चाउचाउ र होटेलको विश्वव्यापी विस्तारले नै उनलाई फोब्र्सको अर्बपत्ति सूचीमा उभ्याएको हो । अहिले वाइवाइको विश्वमा २.५ प्रतिशत हिस्सा पुगिसकेको छ । सन् २०२० सम्म वाइवाइको उत्पादन वार्षिक पाँच अर्ब प्याकेट पुर्याएर विश्व चाउचाउ बजारमा पाँच प्रतिशत हिस्सा पुर्याउने अभियान छ ।

६१ वर्षीय उनी १८ वर्षको उमेरदेखि नै फेमिली बिजनेसमा संलग्न छन् । पछिल्लो समय उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका देखिन्छन् ।

धनाढ्यको सुचिमा माइक्रोसफ्ट कम्पनीका अध्यक्ष बिल गेट्स पहिलो स्थानमा आएका छन् । उनी ८६ अर्ब डलर सम्पत्तिसहित लगातार चौथो वर्ष विश्वकै धनाढ्य बन्न सफल भएका हुन् । अघिल्लो वर्ष उनको सम्पत्ति ७५ अर्ब डलर थियो ।

बिल गेट्स विगत २३ वर्षमा धनाढ्यको सूचीमा १८ पटक पहिलो नम्बरमा पर्न सफल भएका छन् । विश्वका अर्बपतिको सूचीमा सेयरका बादशाह मानिने वारने बफेट ७५.६ अर्ब डलर सम्पत्तिसहित दुई नम्बरमा परेका छन् ।

यो वर्ष फोब्र्स पत्रिकाको सूचीमा धनाढ्य १३ प्रतिशतले बढेर दुई हजार ४३ पुगेका छन् । विश्वभरका अर्बपतिको कुल सम्पत्ति ७.६७ ट्रिलियन डलर पुगेको फोब्र्सले जनाएको छ ।

यो वर्ष पनि अर्बपतिको सूचीमा अमेरिकनको बर्चस्व देखिएको छ । अमेरिकाका पाँच सय ६५ जना अर्बपतीको सूचीमा परेका छन् । चीन दोस्रो नम्बरमा छ । चीनबाट तीन सय १९ जना (हङकङ ६७, मकाउ १) धनाढ्यको सूचीमा छन् । तेस्रो नम्बरमा रहेको जर्मनीबाट एक सय १४ र चौथोमा भारतबाट एक सय एक जना अर्बपतिको सूचीमा छन् । भारतबाट लगातार चार पटकसम्म सय जना अर्बपतिको सूचीमा पर्दै आएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments