काठमाडौं । नेपालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा संयुक्त राज्य अमेरिकाले बधाई व्यक्त गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको तर्फबाट मंगलबार ह्वाइट हाउसद्वारा वक्तव्य जारी गर्दै  निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सरहाना व्यक्त गरेको हो ।

वक्तव्यमा अमेरिकाले निर्वाचन आयोग, नागरिक समाज र राजनीतिक दल लगायत सरोकारवालाप्रति सराहना व्यक्त गरेको छ ।

प्रदेश नम्बर ३ , ४ र ६ का नागरिक लगायत सबै सरोकारवालाहरूले गरेको प्रयत्नको संयुक्त राज्य अमेरिकाले प्रशंशा गरेको छ । वक्तब्यमा ‘जेठमा सम्पन्न हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि हामी सरोकारवालाहरूलाई आग्रह गर्न चाहन्छौँ, जसले गर्दा प्रदेश नम्बर १, २, ५ र ७ का नागरिकहरूलाई पनि स्थानीय प्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने यस्तै अवसर प्राप्त हुन सकोस् ।’ भनिएको छ ।

स्थानीय निर्वाचनको दोस्रो चरणमा निर्बाध रूपमा अन्र्तराष्ट्रिय निर्वाचन पर्यवेक्षकलाई अनुमति दिनका लागि नेपाल सरकारलाई अमेरिका आग्रह गर्न चाहन्छ । यसो भएको अवस्थामा मान्यताप्राप्त कूटनीतिज्ञहरू लगायत अन्र्तराष्ट्रिय समूदायलाई निर्वाचनको पर्यवेक्षण गर्ने र परिणामलाई समर्थन गर्ने मौका मिल्छ । विज्ञप्तीमा भनिएको छ ।

आगामी निर्वाचनका लागि ३० दिनभन्दा कम समय बाँकी रहेको यस अवस्थामा हामी राजनीतिक सहमति कायम गर्ने प्रयत्नहरूलाई जारी राख्न आग्रह गर्दछौँ, जसमार्फत समावेशी प्रक्रियाका लागि स्थानीय निर्वाचनको दोस्रो चरणमा सकेसम्म धेरै मतदाताहरू सहभागी बन्न सकुन् । यसो भएको खण्डमा निर्वाचन प्रक्रियाको विश्वशनियता बढ्नेछ र मुलुकभर लोकतान्त्रिक रूपान्तरण बलियो हुने भनिएको छ ।

हामी सबै दलहरूलाई अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन् पाउने स्वतन्त्रता तथा नेपालको कानून र संविधानमा व्यवस्था गरिएबमोजिमको मतदाताको अधिकारलाई सम्मान गर्न आग्रह गर्दछौँ । वक्तव्यमा भनिएको छ, हामी सुरक्षा निकायलाई पनि कर्तव्य पालनामा संयतमता अपनाउन र प्रचलित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मापदण्डहरूको पालना गर्न अनुरोध गर्दछौ ।

Please follow and like us:

Comments