काठमाडौं । मधेसवादी प्रमुख तीन दल अहिले कोही स्थानीय तहको उम्मेदवार छान्दै छन् भने कोही निर्वाचन बिथोल्ने योजना बुनिरहेका छन् ।  नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपाल दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्नमा व्यस्त छ । तर अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गाउँ–गाउँ एवं बुथहरूमा निर्वाचन बिथोल्न समिति गठन गर्दै सशक्त आन्दोलनको तयारीमा जुटेको छ ।

१४ असारमा प्रदेश नम्बर १, २, ५ र ७ मा हुने दोस्रो चरणको स्थानीय तहकोे निर्वाचनका लागि फोरम लोकतान्त्रिक र फोरम नेपालका नेताहरू उम्मेदवार छनोट गर्नमा व्यस्त छन् । पहिलो चरणको निर्वाचनमा सहभागी यी दुवै दल दोस्रो चरणको निर्वाचनमा पनि सहभागी हुने र निर्वाचनमा विजयी हुनका लागि गठबन्धन नै निर्माण गरेर निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

लोकतान्त्रिक फोरमका महासचिव भारतेन्दुकुमार मल्लिकले उम्मेदवार छान्न जिल्ला जिल्लामा पार्टीले केन्द्रीय प्रतिनिधि तोकेर पठाइसकेको बताए । वीरगन्ज, विराटनगर, कलैया, जनकपुरलगायतका केही महŒवपूर्ण ठाउँबाहेक सबै ठाउँमा उम्मेदवार छनोट भइसकेको बताउँदै उनले शनिबारसम्ममा सबै ठाउँमा उम्मेदवार छनोट गरिसक्ने बताए ।

हाम्रो उम्मेदवार छनोट गर्ने काम अन्तिम चरणमा पुगेको छ, जिल्लाजिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेका छौं – भारतेन्दुकुमार मल्लिक महासचिव, लोकतान्त्रिक फोरम
जनताका माग पूरा नभएकाले मधेसमा निर्वाचन हुन सक्दैन, मधेसी जनता निर्वाचन स्वीकार गर्ने पक्षमा छैनन् – राजेन्द्र महतो अध्यक्ष मण्डल, राजपा नेपाल

‘हाम्रो उम्मेदवार छनोट गर्ने काम अन्तिम चरणमा पुगेको छ, जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेका छौं,’ मल्लिकले राजधानीसँग भने, ‘निर्वाचनमा अधिकतम उपलब्धि र आवश्यकताका आधारमा गठबन्धन निर्माण गरेरै निर्वाचनमा सहभागी हुन्छौं ।’

चुनावी गठबन्धन निर्माणका लागि जिल्ला समितिहरूलाई नै अधिकार दिएको उनले बताए । फोरम नेपालसहितका दलसँग गठबन्धन निर्माण हुन सक्ने उनको भनाइ रहको छ । सम्बन्धित गाउँपालिका र नगरपालिकाको सिफारिसमा जिल्ला समितिले प्रमुख र उपप्रमुखको टुंगो लगाउने अधिकार फोरम लोकतान्त्रिकले दिएको छ । उसले वडा अध्यक्ष र सदस्यको उम्मेदवार सम्बन्धित वडा समितिको सिफारिसमा माथिल्लो समितिले अनुमोदन गरेपछि उम्मेदवारको टुंगो लाग्ने मापदण्डको व्यवस्था गरेको छ ।

उम्मेदवार छनोट गर्दा सर्वसम्मत गर्ने, सर्वसम्मत हुन नसके बढीमा तीनजना उम्मेदवारको नामावली सम्बन्धित समितिले सिफारिस गर्नुपर्ने फोरम लोकतान्त्रिकले जनाएको छ । विवाद भएका ठाउँको हकमा केन्द्रीय समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य वेद गच्छदारले बताए । फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले छिटो उम्मेदवार छनोट गर्नुपर्ने निर्देशन स्थानीय कमिटीलाई दिएको बताए । गाउँ, नगरमा उम्मेदवार छनोट गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको उनलेबताएका छन् ।

फोरम नेपाल र नयाँ शक्ति एउटै चुनाव चिह्नमा निर्वाचन लडिरहेको बताउँदै उनले दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमसँग चुनावी गठबन्धन निर्माण गरेर निर्वाचनमा सहभागी हुनेमा छलफल चलिरहेको बताए । निर्वाचनलाई पनि आन्दोलनकै रूपमा लिएर जनताका बीचमा जान लागेको बताउँदै श्रेष्ठले निर्वाचन पनि अर्को संघर्ष नै रहेको बताए ।

फोरम नेपालले गाउँपालिका, नगरपालिकाको वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनोट गरी गाउँपालिका र नगरपालिका समितिलाई दिएको छ । गाउँपालिका, नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित समितिको सिफारिसमा जिल्ला समितिले अन्तिम टुंगो लगाउने मापदण्ड बनाएको छ । यसैगरी, महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उप्रमुखका उम्मेदवार सम्बन्धित समितिको सिफारिसमा प्रदेश समितिले अन्तिम टुंगो लगाउनेछ ।

उता, संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारणलगायतका माग थाती राख्दै लोकतान्त्रिक फोरम र फोरम नेपालले निर्वाचन जित्ने रणनीतिका साथ अगाडि बढिरहँदा राजपा नेपाल भने आन्दोलन बिथोल्ने रणनीतिमा लागेको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निर्धारण, झुठा मुद्दा फिर्ता, शहीद परिवारलाई क्षतिपूर्तिलगायतका माग पूरा नभएकाले आन्दोलनको विकल्प नभएको बताए । निर्वाचन बिथोल्ने गरी सशक्त आन्दोलनको तयारीका लागि राजपाले अहिले मधेसका गाउँगाउँ एवं बुथहरूमा आन्दोलन परिचालन समिति गठन गर्दै प्रशिक्षण दिइरहेको छ ।

महतोले तीन दल जनताको माग पूरा नगरी जबर्जस्ती निर्वाचन गरेर द्वन्द्वलाई निम्ता दिइरहेको आरोप लगाए । २० वर्षसम्ममा नभएको निर्वाचन जनताको माग पूरा गरेर एक दुई महिनापछि गर्दा समस्याको समाधान हुने सुझाव दिँदै उनले प्रमुख दल नै देशलाई बर्बाद गर्ने दिशामा लागेको आरोप लगाए ।

‘जनताको माग पूरा नभएकाले मधेसमा निर्वाचन हुन सक्दैन, मधेसी जनताले आफ्नो माग पूरा नगरी हुने निर्वाचन स्वीकार गर्ने पक्षमा छैनन्,’ महतोले भने, ‘जनताको समस्या समाधान नगरी यहाँ निर्वाचन कसैले गराउन सक्दैन, हामी हुन दिन्नौं ।’विधान संशोधन, स्थानीय तहको संख्यालगायतका माग पूरा गरेर हुने निर्वाचनमा राजपा पनि सहभागी हुने उनले बताए । महतोले प्रधानमन्त्रीको निर्वाचनताका भएको सहमति सरकारले पूरा नगरे निर्वाचन बिथोल्ने चेतावनी पनि दिए । फाइल तस्बिर

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments