काठमाडौं । एमालेले माओवादी सम्मिलित वाम गठनबन्धनको सरकार निर्माण गर्ने भएको छ।

मधेसवादी तथा अन्य ससाना दललाई उसले सरकारमा सहभागी नगराउने भएको छ। महासचिव ईश्वर पोखरेलले ‘दुई पार्टीले सरकार बनाउन जनमत पाएकोले आगामी ‘सरकार वाम गठबन्धनले चलाउँने बताए । तर राष्ट्रिय राजनीतिका विषयमा भने सबैसँग सहमति र सहकार्य गरी हिँड्ने उनले प्रष्ट पारे । सरकार निर्माणमा पनि वाम गठबन्धनबाहेकका दलसँग कुनै छलफल नभएको उनले बताए।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट पहिलो दल बनेको एमालेले सरकार निर्माणको गृहकार्यलाई तीव्रता दिएको छैन। उसले पार्टी एकता र सरकार निर्माणको कार्य सँगै अगाडि बढाउने जनाए पनि नेताहरू सरकार निर्माणमा चुस्त देखिएका छैनन्। एमाले र माओवादी केन्द्रबीच मिलेर सरकार गठन गर्न कानुनले बाटो खोलिदिए पनि त्यसलाई व्यवहारिकता दिन दलहरू घनीभूत रूपमा नलागेका हुन्।

सरकार गठनका लागि एमाले र माओवादीबीच औपचारिक बैठकसमेत बसेको छैन। पार्टी शीर्ष नेता केपी ओली र पुष्पकमल दाहालबीच एक÷दुई वटा भेटवार्तामा सरकार निर्माणका विषयमा सामान्य छलफल भए पनि सरकारको नेतृत्व कसले र कति संख्यामा गर्ने, को को सहभागी हुने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन।

सरकारको नेतृत्व ओलीले गर्ने भए पनि त्यसबारे एमालेले औपचारिक निर्णय गर्न सकेको छैन। वरिष्ठ नेता झलनाथ खनालले ओली प्रधानमन्त्री बन्ने कुरामा दुवै पार्टीबीच विवाद नभएको बताए। उता माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न आग्रह गरेको र आफूले त्यसलाई ठाडै अस्वीकार गरेको खुलाए।

Comments