काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन गिर्जाघरहरुमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएको भनाइ छ ।

सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैै क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिस्टियन महासंघको दाबी छ । हाल नेपालमा आठ हजार पाँच सय चर्च र ३० लाखभन्दा बढी क्रिस्चियन धर्मावलम्बी छन् ।

क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ । क्रिसमस ट्रिलगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको थियो ।

Comments