काठमाडौं। आगामी चैत १७ गतेबाट सुरु हुने धनगढी प्रिमियर लिग डीपिएल-२ को अक्सन यही फागुन ९ गते हुँदैछ।

अक्सनका लागि खेलाडी दर्ता गर्ने क्रम सकिएको र २ सय भन्दा बढी खेलाडीले नाम दर्ता गरेको आयोजकले जनाएको छ।

डीपिएलको टेक्निकल कमिटीसँग सहकार्य गरेर नाम दर्ता गरेको खेलाडीको लिस्ट सहभागि टिमहरुलाई पठमाइसकेको आयोजकले आइतवार जानकारी गराएको हो।

डीपिएल अक्सनमा सहभागि हुने खेलाडीलाई चार क्याटेगोरीमा राखेर यसअघि नै बेस प्राइज समेत तोकेको छ। जस अनुसार ए क्याटेगोरीमा रहने खेलाडीको बेस प्राइज १ लाख छ र बढीमा १ लाख ५० हजारसम्म बिड गर्न पाउनेछ। यस क्याटेगोरी राष्ट्रिय टोलीबाट कम्तिमा १५ खेल खेलेको या विगत ३ वर्षयता राष्ट्रिय टोलीमा खेलिआएका खेलाडी समावेश हुनेछन्।

यस्तै बी क्याटेगोरीमा बाँकी राष्ट्रिय खेलाडीहरु, राष्ट्रिय टिमको क्याम्पमा परेका तथा यू-१९ राष्ट्रिय खेलाडीहरुलाई समेटिएको छ। उनीहरुको बेस प्राइज ५० हजार छ र बढीमा १ लाख सम्म रहनेछ।

त्यसबाहेकका बाँकी सबै अनक्याप्ड प्लेअर रहेको क्याटेगोरी सी मा रहने खेलाडीको बेस प्राइज २५ हजार छ र ७५ हजारसम्म बिड गर्न पाउनेछ। यस्तै सुदूर पश्चिमका लोकल प्लेअरहरु मात्र समावेश गरिने क्याटेगोरी डी मा रहने खेलाडीको बेस प्राइज २० हजार छ भने बढीमा ४० हजारसम्म रहनेछ। यसका लागि आयोजकले सुदूर पश्चिममा ट्यालेन्ट हन्ट गर्दै १२ स्थानिय खेलाडी छनोट गरिसकेको छ। त्यसबाट सहभागि ६ टिमले एक-एक खेलाडी अनिवार्य लिनुपर्नेछ।

यस्तै सहभागि ६ टिमको यसअघि नै रणनीतिक खेलाडी घोषणा भइसकेको छ। प्रत्येक टिमले २-२ विदेशी खेलाडी समेत अनिवार्य राख्नुपर्नेछ।

बाँकी १२ खेलाडीको लागि अक्सन हुनेछ।

Comments