काठमाडौं । मनोरञ्जनकालागि मात्र गीत तयार पार्ने ट्रेण्डलाई छोडेर एजुकेशनल च्यारिटीकालागि एउटा नेपाली म्यूजिक भिडियो निर्माण गरिएको छ ।

बेलायत निवासी सामाजिक अभियान्ता तेन्जी पाख्रिनले लेख्नुभएको गीतको च्यारिटी भिडियोको निर्देशन दीपेन्द्र दोङ तामाङले गरेका छन् ।
गीतकार पाख्रिनको शब्द र शान्तिराम राईको संगीत रहेको कहाँ होलान् बोलको गीतमा प्रतिभाशाली बाल गायिका जिग्मेछ्योकी घिसिङको स्वर समावेश छ । सञ्चारकर्मी तामाङको निर्देशनमा बनेको म्यूजिक भिडियोको सोमवार प्रिमियर गरिएको हो ।

च्यारिटी म्यूजिक भिडियोको रुपमा निर्माण गरिएको भिडियोमा विनाशकारी भूकम्पमा परि आमा वुवा गुमाएका दुई बालिकाको कथा देखाइएको छ । सडक बालिकाका रुपमा जीवन जीउन बाध्य ती बालिकाहरुको पढ्ने धोकोलाई भिडियोमा कथानक रुपमा प्रस्तुत गरिएको छ । शिक्षाका नाममा सरकार र गैरसरकारी क्षेत्रले बर्षेनी ठूलो धनराशी खर्च गरेपनि लक्षित समूह भने त्यसबाट सधैं बञ्चित हुने गरेको तथ्यलाई भिडियोबाट व्यंग्य गरिएको छ ।

अनाथ र सडक बालबालिकाहरुको शिक्षाकालागि सहयोग गर्ने उदेश्यले फस्ट एजुकेट नेपाल,युके नामक संस्था स्थापना गरेका गीतकार पाख्रिनले त्यही अभियानलाई प्रतिविम्वित गर्न यो गीत र भिडियो तयार पारिएको म्यूजिक बाइट्सलाई बताए ।

कहाँ होलान् गीतको भिडियोमा राष्ट्रिका खड्का र स्तुति सापकोटा फिचरिङ छन् । नारायण जिसीको छायाँकन र अनिल महर्जनको सम्पादन रहेको म्यूजिक भिडियोको निर्माण श्रीमती रत्नदेवी गुरुङले गरेका हुन् ।

Comments