काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अनौठो दृश्य देखियो । फ्लाई दुबईका विमानचालक एम हुसेन अत्यधिक मादकपदार्थ सेवन गरी उडान भर्न विमानको ककपिटमा पुगेका थिए ।

पूर्वनिर्धारित तथा नियमित उडान तालिकाअनुसार आइतबार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट दुबई जाने तयारीमा रहेको ‘एफजेड–७३७’ कल साइनको विमान फ्लाई दुबईका पाइलट हुसेनले नै उडाउन जिद्दी गरे । अाजकाे राजधानी दैनिकमा खबर छ ।

मातेका हुसेनले चालक दलका सदस्यलाई समेत एकोहोरो मुख छाड्दै ककपिटमा कराउन थालेपछि सो विमानका अन्य चालक दलका सदस्यले तत्काल विमानस्थल कार्यालयमा उनको गतिविधिबारे जानकारी गराएका थिए । सोही जानकारीका आधारमा विमानस्थल प्रशासनले उनलाई विमानबाट ओरालेर मदिरा सेवनबारे परीक्षण गराउने बेथलाइजर मेसिन प्रयोग गरेको थियो । बेथलाइजर मेसिन प्रयोग गर्दा उनले मदिरा सेवन गरेको भेटिएपछि फ्लाई दुबईको सो समयको नियमित उडान रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले फ्लाई दुबईबाटै आधिकारिक रूपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको बताए । उनले सो विमानका अन्य कर्मचारीले आफ्ना पाइलट हुसेनले मदिरा खाएकोबारे बेथलाइजर मेसिन प्रयोग गरिदिन भनेकाले विमानस्थल प्रशासनले मापसे परीक्षण गर्दा मदिरा सेवन गरेको पाएपछि विमान उडान रद्द गरिएको बताए ।

मदिराले मातेका पाइलट हुसेनलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएको थियो । विमानस्थल प्रशासनले पाइलटको गतिविधि एकदमै असामान्य पाएपछि आफूहरूले उनलाई नियन्त्रणमा लिएको र फ्लाई दुबईकै अन्य कर्मचारीको जिम्मा लगाएर छाडिएको बताएको छ ।

मातेका पाइलटलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएपछि रोकिएको फ्लाई दुबईको विमान आइतबार साँझ अर्का पाइलट दुबईबाट मगाएर उडाइएको थियो । मापसे गरेका पाइलटको जबर्जस्ती उडान प्रकरणमा देखिएका सम्पूर्ण रिपोर्ट फ्लाई दुबईको केन्द्रीय कार्यालयमा पठाएको क्षत्रीले जानकारी दिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments