मेलबर्न । अष्ट्रेलियामा वरिष्ठ पत्रकार गोपाल थपलिया प्रतिष्ठानको अनौपचारिक समिति गठन गरिएको छ ।

वरिष्ठ पत्रकार थपलियाको उपस्थितिमा अष्ट्रेलिया भिक्टोरीया राज्यमा यही २९ सेप्टेम्बरमा अनौपचारिकरुपमा गोपाल थपलिया प्रतिष्ठानको शाखा गठन गरिएको हो। अष्ट्रेलियाको हरेक राज्यमा गठन गर्न लागेको यस प्रतिष्ठानको शुरुवात भिक्टोरीया राज्यबाट गर्न लागिएको हो । भविष्यमा अन्य नेपाली समुदायको विभिन्न व्यक्तित्वहरुको सर–सल्लाह र छलफलमा वृहत तरिकाले औपचारिक समितिको घोषणा पनि गरिनेछ ।

शनिवारको अनौपचारिक छलफलबाट प्रतिष्ठानको संयोजकरुपमा रामकुमार श्रेष्ठ, सचिवमा गोपालकृष्ण शिवाकोटी, कोषाध्यक्षमा निता शाहलाई मनोनित गरिएको छ भने सहस्यहरुमा शुशिल चालिसे, गौतम लामिछाने, शैलेन्द्र सुवेदी र निरु त्रिपाठी रहेका छन् । त्यसैगरी सल्लाहकारमा चन्द्र योन्जन तथा डा राजु अधिकारी रहेका छन् । प्रतिष्ठानलाई राम्ररी परिचालन गर्न भावी दिनहरुमा अन्य पद, सदस्यता तथा सल्लाहकारहरु पनि थप्दै जानेकुरा कार्यक्रममा पारित गरिएको छ ।

२०७३ सालमा नेपालका विभिन्न बुद्धिजीवि, पत्रकार, सामाजिक अभियन्ता, समाजसेवी, राजनीतिज्ञ, उद्योगपति लगायत विभिन्न तहको उपस्थितिमा गोपाल थपलिया प्रतिष्ठान गठन गरिएको थियो । देश विदेशमा रहेर विज्ञान, शिक्षा, स्वाथ्य, साहित्य, कला, सामाजिक सेवा, परिवर्तनको अभियन्ता, पत्रकारिता लगायत अन्य सबै क्षेत्रको विकासमा काम गर्ने व्यक्तित्वहरुको सही मुल्याङ्कन गरेर सम्मान गर्ने उद्देश्य सहित गठन गरिएको यस प्रतिष्ठानले विश्वमा भएको मानव हितको सम्पूर्ण कामहरुको सक्दो प्रचारप्रसारमा जोड दिनेछ ।

नेपाली महावाणिज्यदूत कार्यालय भिक्टोरियामा भएको कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार थपलियाले यो प्रतिष्ठान आफ्नो स्वार्थले खडा गरिएको नभई शुभचिन्तक र अनुयायीहरुले खोलेको बताए । अष्ट्रेलियामा मात्रै नभई विश्वको हरेक कुनामा यो प्रतिष्ठान फैलियोस् र हरेक राष्ट्रमा यस प्रतिष्ठानले मानवहितकोलागि र उनीहरुको सम्मानको लागि काम गरियोस् भन्ने आफ्नो चाहना रहेको पत्रकार थपलियाले बताए ।

त्यस्तै कार्यक्रममा भिक्टोरियाकालागि अवैतनि महावाणिज्यदूत चन्द्र योन्जनले पत्रकार थपलियाले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको स्मरण गराउँदै पत्रकार थपलिया विद्यार्थी जीवनकालदेखि नै अनवरत रुपमा शिक्षा, समाजसेवा, जनचेतना, पत्रकारिता तथा अन्य क्षेत्रको अभिवृद्धि कार्यमा निरन्तर रहेको बताए । योञ्जनले प्रतिष्ठानको सफलताको शुभकामना पनि दिए ।

Comments