त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको बाटो सवारी साधन चलाउँदै हुनुहुन्छ भने अब देखि तपाइँले  राजमार्गमै १ मिनेट सवारी सुरक्षा शिक्षा प्राप्त गर्नुहुनेछ |  मंगलबार देखि राजमार्गमा हुने गरेको दुर्घटना कम गर्न धादिङ प्रहरीले ‘प्रहरीसँग एक मिनेट’ नाम दिएर विशेष अभियान सुरु गरेको छ ।

यात्रुको सुरक्षा र सुरक्षित राजमार्गका लागि ट्राफिक नियम र दुर्घटना रोकथामका विषयमा सवारी चालकलाई जानकारी दिने उद्देश्यले राजधानीबाट बाहिरीने सवारी साधनका लागि त्रिभुवन राजपथमा पर्ने नौविसे–२ बाहुनडाँडामा र राजधानी भित्रिने सवारी साधनका लागि पृथ्वीराजमार्गमा पर्ने जोगिमारा–८ लाल्टिन बजारमा केन्द्र राखेर चालकहरुलाई परामर्श दिन थालेको हो । खानीखोला केन्द्रमा साँझ ६ बजेदेखि राती ९ बजेसम्म र जोगिमारामा बिहान ३ देखि ६ बजेसम्म हरेक दिन अभियान सञ्चालन गरिने धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लको भनाइलाई उल्लेख गर्दै उज्यालो ९० नेटवर्कले जनाएको छ ।

एक मिनेटको समय भित्र सवारी चालकहरुलाई चेतनामुलक जानकारी दिईनुका साथै आवश्यक परामर्श समेत दिईने भएकाले कार्यक्रमको नाम प्रहरीसँग एक मिनेट राखिएको हो । अभियानका क्रममा सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीहरुले चालकको स्वास्थ्य, मदिरा सेवनबाट हुने नोक्सानी, सवारी चलाउँदा मोवाइलको प्रयोग गर्न नहुने लगायतका विषयमा जानकारी गराउनुका साथै सवारी साधनको नियमित मर्मत सम्भार, घुम्तीहरुमा अरुलाई उछिन्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा परामर्श दिइने समाचारमा उल्लेख छ  ।

Comments