एजेन्सी । दुई स्टार खेलाडी बिहीन पेरिस सेन्ट–जर्मेन ९पिएसजी० ले पछिल्लो समय उत्कृष्ट लयमा रहेको र स्टार खेलाडीले युक्त म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पिएसजीसँग २–० ले पराजित भएको हो ।

चोटका कारण नेइमार र एडिन्सन काभानी मैदान बाहिर रहेपछि पिएसजी केलियन एमबाप्पे, एन्जल डी मारियासहितका खेलाडीको साथमा वल्ड ट्रफोर्ड आएको थियो ।

जोसे मोरिन्हो बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकको भूमिकामा रहेका ओल गुनार सोल्सकेएरको प्रशिक्षणमा लगातार ११ खेलमा अपराजित रहेको म्यानचेस्टर युनाइटेड १२ औँ खेलमा आएर पराजित भयो ।

ओल गुनारले म्यानचेस्टर युनाइटेडमा पहिलो हार बेहोरेका हुन् । उनले जिम्मेवारी सम्हाले यता यसअघिका ११ खेलमा टिम १० खेलमा विजयी भएको थियो भने एक खेलमा बराबरीमा रोकिएको थियो ।

मंगलबार राति भएको पहिले लेगको खेलमा पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ५३ औँ मिनेटमा प्रेसनियल किमपेम्बेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

यस्तै ६० औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन ।

म्यानचेस्टर युनाइटेड अन्तिमको केही मिनेट १० खेलाडीमा सीमित भयो । ८९ औँ मिनेटमा पउल पोग्बा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

दोस्रो लेग आउँदो मार्च ६ मा पिएसजीको मैदानमा हुनेछ ।

Comments

comments