अष्ट्रेलियामा हाल न्याभ कप २०१९ जारि छ । गत जनवरी ६ देखि सुरु भएको यो टुर्नामेन्टको आगामी मार्च ३ मा फाइनल खेल हुँदैछ । फाइनल खेलमा उपाधिको लागि नारे किंग्स र रोयल राइनोज क्रिकेट क्लब भिड्दै छन् ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया ( न्याभ ) ले आयोजना गरेको उक्त टुर्नामेन्ट व्यवस्थित र उत्साहजनक भइरहेको बताउनुहुन्छ, न्याभ कप २०१९ का संयोजक प्रेम राज उप्रेती । नेपालको कंचनपुर घर भएका उप्रेती नेपालमा रहंदा राष्ट्रिय स्तरका क्रिकेट खेलमा खेलाडी, कोच , स्वयंसेवक तथा व्यवस्थापक र क्रिकेट सम्बन्धि संघ संस्थाको सदस्य रहनुभएको थियो । आफ्नो त्यो अनुभवका कारण पनि न्याभ कप २०१९ व्यवस्थित तरिकाले गर्न सजिलो भएको उहाँ बताउनुहुन्छ ।

नेपालमा रहंदा प्रेम राज उप्रेती क्रिकेटको राष्ट्रिय प्रतियोगितामा क्षेत्र नं, ५, खेत्र नं ६ र क्षेत्र नं तीनबाट खेल्नुभएको थियो । उहाँ त्रिभुवन युनिभर्सिटीको क्रिकेट टिममा आठ वर्षसम्म क्याप्टेन तथा कोच रहनुभएको थियो । सानै देखि क्रिकेटमा लगाव राख्ने उहाँले राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यानेजर रहेर समेत काम गर्नुभयो ।

क्रिकेटको विकास र सामाजिक हितको लागि उप्रेतीले नेपालमा रहंदा देखि नै विभिन्न संस्थामा रहेर काम गर्दै आइरहनुभएको छ । उहाँ विभिन्न स्थानिय क्रिकेट संस्थामा आबद्ध हुनुभयो भने सुदुर पश्चिम विकास क्लबमा अहम् भूमिका निभाउनुभयो । उक्त क्लबले नेपालमै पहिलो पटक क्रिकेट सम्बन्धि सामग्री प्रकाशन हुने पत्रिका प्रकाशित गरेको थियो । पत्रिकाको नाम ‘क्रिकेट नेपाल’ रहेको उहाँ बताउनुहुन्छ ।

आफ्नो यही पृष्ठभूमी तथा अनुभवका कारण अष्ट्रेलियाको भिक्टोरियामा बस्ने नेपालीको संस्था ‘न्याभ’ मा उप्रेतीले खेल क्षेत्रको जीम्मेवारी बहन गर्नुभयो । उहाँका अनुसार, यो वर्षको टुर्नामेन्टमा नेपालीहरुको उल्लेख्य सहभागिता रह्यो । मार्च ३ मा हुने फाइनल खेलमा नेपालीहरुको सहभागिता अझ बढ्ने उहाँको विश्वास रहेको छ । खेल पछि हुने अवार्ड कार्यक्रम, बालबालिकालाई प्रशिक्षण आदि कार्यक्रमले गर्दा न्याभ कपको २०१९ को फाइनल खेलको आकर्षण अझ बढेको छ । अवार्ड कार्यक्रममा नेपाली समुदायमा क्रिकेटलाई अगाडी बढाउन सहयोग गर्ने क्लब, संस्था या व्यक्तिलाई सम्मान गरिने उहाँले जानकारी दिनुभएको छ ।

न्याभ कपमा सहभागी हुने नेपाली समुदायका क्रिकेट क्लबका खेलाडीमा अधिकांश विद्यार्थीहरु रहेका छन् । संयोजक उप्रेतीका अनुसार, न्याभ कपले ती खेलाडीलाई व्यवसायिक खेलाडीको स्थान दिन नसकेतापनि उनीहरुलाई आफ्नो क्रिकेट करियरलाई अगाडी बढाउनको लागि भने पक्कै हौसला दिन्छ । यसका साथै न्याभ कपले विद्यार्थीहरुलाई खेल प्रति जागरुक गराउने, तनावबाट निस्कने तथा नेपाली समुदायलाई एकताको सुत्रमा बाँध्न सहयोग गर्ने संयोजक उप्रेती बताउनुहुन्छ । उहाँका अनुसार, न्याभ कपको आयोजना तथा सफलतालाई हेर्दा नेपाली समुदायमा अरु समुदायमा भन्दा बढी एकता, सद्भाव र आत्मियताको भाव देख्न सकिन्छ ।

नेपाली समुदायमा न्याभले क्रिकेट टुर्नामेन्ट मात्र आयोजना गर्यो भन्ने छाप बसेको उल्लेख गर्दै प्रेम राज उप्रेती भन्नुहुन्छ, ” न्याभले नेपाली समुदायलाई हरेक खेलमा अगाडी बढाउन चाहन्छ । न्याभले क्रिकेट बाहेकका अरु खेललाई पनि प्राथमिकता दिंदै आएको छ र आगामी दिनमा त्यस्ता सबै खेललाई अगाडी बढाउने किसिमले योजनाहरु बनिरहेका छन् “। उहाँले स्थानिय संस्थाबाट सहयोग मिलेको बताउंदै अब त्यो सहयोगले मल्टिकल्चरल तहका खेल हुने जानकारी दिनुभएको छ ।

न्याभ कप २०१९ को फाइनल खेल आगामी ३ मार्चमा JC Donath Reserve , Reservoir मा हुनेछ । खेल दिउँसो १२:३० बजे देखि सुरु हुने बताइएको छ । फाइनल खेलमा पहिलो स्थानको लागि रोयल राइनोज र नरे किंग्स भिड्नेछन् भने तेस्रो स्थानको लागि एभरेस्ट र हिमालयन भिड्नेछन् । उत्कृष्ट तीन टिम मल्टिकल्चरल क्रिकेट टुर्नामेन्टको लागि समेत छानिनेछन् । यसपालिको न्याभ कप टुर्नामेन्टमा दश टिम सहभागी भएका थिए, जुन अहिलेसम्मकै ठूलो सहभागिता हो ।

यसपालिको न्याभ कपलाई ग्रेस एजुकेसन कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ । हिमालयन कंगारु न्याभ कपको मिडिया पार्टनरको रुपमा रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments