मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा हुन लागेको ‘मःम फेष्ट २०१९’ को तयारी तीव्र रुपमा भैरहेको आयोजक संस्था सोलाङ्चरले जनाएको छ ।

फेष्टिभलका माध्यम मार्फत नेपाली मःमको स्वाद चखाउन मेलवर्नमा यसवर्ष पनि ‘मःम फेष्ट’ गर्न लागेको सोलाङ्चरले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । ‘मःम फेष्ट २०१९’ नामाकरण गरिएको यस कार्यक्रमको प्रमुख उदेश्य स्थानीय अष्ट्रेलियनहरुलाई बढीभन्दा बढी सहभागी बनाई नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने रहेको विज्ञप्तिमा उल्लेख छ ।
मेलवर्नको नर्थ कोवर्गस्थित चाल्र्स स्ट्रिटमा रहेको कोवर्ग भेलोड्रोममा कार्यक्रमको आयोजना हुनेछ ।

आयोजकले जनाए अनुसार यसपटकको मःम फेष्टमा तीसभन्दा बढी मःमका परिकारको स्वाद चाख्न पाईने छ । फेष्टिभलमा १५ वटा मःम स्टलहरु रहनेछन् । साथै लाईभ म्यूजिक, मल्टिकल्चरल प्रस्तुति, बालबालिकाका लागि मनोरञ्जन, मःम खाने कम्पिटिसन आदि जस्ता कार्यक्रमले मःम फिष्टको रौनकतालाई बढावा दिने छ । आउने मार्च १७ तारिख आईतबार हुने कार्यक्रम दिउसो १२ बजेबाट बेलुकी १० बजेसम्म आयोजना हुनेछ ।

सोलाङ्चरको आयोजनामा ‘मःम फेष्ट’ वार्षिक रुपमा २०१७ बाट शुरुवात भएको हो । कार्यक्रमको आयोजनाको पहिलो वर्ष नै १५ हजार बढी मानिसहरुको कार्यक्रममा सहभागिता भएको थियो भने गत वर्ष यो संख्या बढेर २० हजार बढी पुगेको थियो । स्थानीयहरुको सहभागिताले अझ उत्साहित भएको सोलाङचरका क्रियटिभ डाईरेक्टर राजु शाक्यले बताउनुभयो । उहाँले यसवर्ष फेष्टिबलमा ३० हजार बढिको सहभागिता बनाउने प्रयासमा जुटेको जानकारी दिनुभयो । हालसम्म ८ हजार बढिले प्रत्यक्ष रजिष्ट्रेसन गरिसकेको र १५ हजार बढिले सोसल मिडिया फेसबुक मार्फत सहभागिता हुने प्रतिवद्घता जाहेर गरेको शाक्यले बताउनुभयो । नेपाल चिनाउने र पर्यटकका लागि आकर्षण गन्तव्य नेपाल हो भन्ने विदेशीहरुलाई जानकारी दिन पनि फेष्टिबल सफल हुने आयोजकको विश्वास छ ।

कार्यक्रममा निशुल्क प्रबेश राखिएको छ । सहभागिताका लागि रजिष्ट्रेसन गर्न सकिने छ । जसका लागि www.momofest.com गएर रजिष्ट्रेसन गर्न र कार्यक्रम बारेमा विस्तृत जानकारी लिन सकिने छ ।

स्थानीय तथा नेपाली संघसंस्थाको समेत सहभागितामा हुने यस कार्यक्रममा नेपाल तथा अन्तराष्ट्रिय स्तरका सांगीतिक प्रस्तुतिहरु रहनेछन् । जसअन्तर्गत आईजल्याण्ड रुट्स, दि कजुज, रिदम युनाईट्स, पार्टी गल्र्स, इण्डिजियस हिप हप, ब्राजिलियन साम्भा डान्स प्रस्तुति विशेष रहनेछन । यसै कार्यक्रममा चर्चित युवा गायक ‘विपुल क्षेत्री एण्ड द ट्राभलिङ व्याण्ड’को विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रममा बालबालीकाहरुका लागि ‘दि कजुज’ र बम्बल बि एण्ड अप्टिमस प्राईमले भरपुर मनोरंजन गराउने छ । साथमा फेस पेन्टिङको पनि व्यवस्था गरिएको छ । कार्यक्रमलाई मनोरंजनपूर्ण बनाउन मःम खाने कम्पिटिसन पनि राखिएको छ भने विजेताले पुरस्कार पनि पाउने छन् ।

सोलाङचरले नेपाली चलचित्र अन्य चलचित्र सरह हलमा व्यवसायिक प्रदर्शन गराउने अभियान देखि महयात्रा, नेपथ्य, सांगीतिक हातेमालो, डवली जस्ता उत्कृष्ट मनोरंजनात्मक कायक्रम गरी आफूलाई स्थापित बनाउन सफल रहेको छ ।
नेपालीहरुद्धारा आयोजित यस कार्यक्रम मःम फेष्ट साउथ एसियाली मुलुकभन्दा बाहिर हुने मःम फेष्टिभलहरुमा सबैभन्दा उत्कृष्ट र वृहद कार्यक्रम रहेको आयोजकको दाबी छ ।

Comments

comments