विजय महर्जनलाई आज जस्तै लाग्छ अष्ट्रेलिया आएको त्यो पहिलो दिन । सन् २००९ मा विद्यार्थी भिसामा नेपालको पाटनका उनी अष्ट्रेलियाको उडेका थिए । कक्षा १२ सम्मको पढाइ सकेपछि उनले होटल म्यानेजमेन्टको लागि नेपालमै छात्रवृत्तिमा पढ्ने निधो गरे । परिक्षामा नाम निकालेता पनि उनको लुक्स, उनको शैलीलाई कारण देखाएर छात्रवृत्ति दिइएन । अन्तर्वार्तामा जाँदा पनि भलाद्मी देखिने किसिमको पहिरन तथा शैली नहुनु उनको लागि अवरोध बन्यो । त्यसपछि विजय महर्जनले अष्ट्रेलियालाई आफ्नो शैक्षिक गन्तव्य बनाउने निधो गरे ।

आफ्नो जग्गा बेचेर आएको पैसाले विजयका बुवाले उनलाई अष्ट्रेलियाको लागि बाटो खुल्ला गरिदिए । धेरै नेपाली विद्यार्थीको गुनासो, अष्ट्रेलियामा नेपालीबाट ठगिएको हुने गर्छ । यसकै मारमा उनी पनि परे । चिनजानको आधारमा अष्ट्रेलिया आएपछि बस्ने ठाउँ मिलाइदिने भनेर उनले नेपालबाट नै अष्ट्रेलिया आएपछि बस्ने ठाउँको एक महिनाको भाडा बुझाएका थिए । तर अष्ट्रेलिया आएपछि ती पैसा लिने व्यक्तिले सम्पर्क नै गरेनन् । बल्लतल्ल विजयले सम्पर्क गरेपछि उनले अर्को ठाउँमा पठाए । तर त्यो ठाउँमा पुग्दा विजयलाई भनियो कि, उनले तिरेको पैसा र ती व्यक्तिले भनेको आधारमा केही पनि हुँदैन । उनले फेरी पैसा तिर्नुपर्ने हुन्छ ।

साथीहरुको साथ, आमा बुवाको भरोसाले विजयलाई अष्ट्रेलियाको जस्तोसुकै कठीन परिस्थितिसंग पनि जुध्ने हिम्मत दियो । उनी सम्झिंचन् , ” म कहिल्यै निराश भइन । सबैसंग ठट्टा गर्ने, मिलेर रहने बानीका कारण पनि मलाई निराशाले धेरै नछोएको हुनसक्छ” । उनी पढ्ने ठाउँमा मात्र होइन, काम गर्ने ठाउँमा समेत गीत गुनगुनाउने, साथीहरुलाई हँसाउने गरिरहन्थे । कुकरी पढ्न लागेका उनले किचनमा काम पाएका थिए । अष्ट्रेलिया आएपछि काम खोज्दाका दिन सम्झिदै विजय भन्छन् , ” मलाई काम खोज्न, काम माग्न, मानिसहरुसंग बोल्न कहिल्यै पनि लाज लाग्ने, अप्ठ्यारो लाग्ने भएन । धेरै साथीहरु काम खोज्दै हिंड्न अप्ठ्यारो मान्ने, काम खोज्दा लाज मान्ने भएकै कारण काम नपाएको मैले पाएँ “।

विजय अष्ट्रेलिया आउने व्यक्तिले आफू यहाँ केको लागि आउने भन्ने निर्दिष्ट गरेर, त्यही अनुसार योजना बनाएर आउनुपर्ने बताउँछन् । पढ्नकै लागि हो भने पढाइमा मात्र ध्यान केन्द्रित गर्ने, पैसाको लागि हो भने पैसाकै लागि काममा केन्द्रित हुनुपर्ने उनी सुझाव दिन्छन् । विजयलाई अष्ट्रेलियाको पीआर लिनु थियो । त्यसै उनले आफ्नो योजना त्यही अनुसार बनाए । किचनमा काम सुरु गरेका विजयले त्यही रेष्टुरेन्टमा ६ वर्ष भन्दा बढी काम गरे र त्यहीं सुपरभाइजर सम्म बने । काम बढी गर्नुपर्थ्यो, पैसा कम थियो । त्यसैले धेरैले उनलाई त्यो काम छोड्न सुझाव पनि दिए । तर उनलाई थाहा थियो, उनले के चाहन्छन् र के गरिरहेका छन् । उनको त्यो मेहनत, त्यागले उनको एउटा लक्ष्यलाई मूर्त रुप दियो । २०१५ मा उनले पीआर पाए र त्यो पीआरको लागि त्यही रेष्टुरेन्टले नै स्पोन्सर गरिदिएको थियो ।

पीआर पाएपछि विजय महर्जनले किचनको काम छोडे । उनको लक्ष्य सेफ बन्नु थिएन । त्यसको साथै नेपालीले नेपालीको खुट्टा तान्ने बानीले उनी त्यहाँ आजित भएका थिए । त्यसैले पनि उनले उक्त रेष्टुरेन्ट छोडे र करियर परिवर्तन गर्ने निर्णय गरे । त्यसपछि विजय महर्जनले हस्पिटालिटी ट्रेनिंग गरे, रियल स्टेटको कोर्स समेत गरे । तर ती काममा काम माग्न जाँदा सबैले अनुभव धेरै भएको व्यक्ति माग्थे । करियरको विकल्प खोज्दै जाँदा उनले मार्केटिंग पनि गरे । तर त्यो काम मन नपरेपछि केही दिन पछि नै मार्केटिंगको काम छोडे ।

काम खोज्दै जाँदा विजयले उबरको काम गर्न थाले । उबर चलाउँदा चलाउँदै उनले अष्ट्रेलियन प्रहरीमा एप्लाई गरे। तर कामले गर्दा उनलाई त्यसको प्रोसेसको लागि जाने समय मिलेन । त्यही समयमा उनले म्युजिकमा डिप्लोमा समेत गरे । त्यतिन्जेलसम्म विजयले अष्ट्रेलियाको नागरिकता लिइसकेका थिए । अष्ट्रेलियाको नागरिकता भएका कारण उनले म्युजिकको पढाईमा पैसा पाए र सहज भयो । आम्दानी राम्रै थियो, तर केही महिनापछि उबर दुर्घटना भयो । दुर्घटना पछि उनले उबर चलाउन पाएनन् । आम्दानी ठप्प भयो । कलेज जान नपाएर घरमै बसिरहे । त्यही समयमा उनले ‘प्रयास गरि हेरौं न ‘ भन्ने सोंचले अष्ट्रेलियन आर्मी मा एप्लाई गरे ।

आर्मीमा एप्लाई गरेपछि सुरुमा लिखित परिक्षा दिनुपर्थ्यो । पछिल्लो गाह्रो प्रश्नहरु उनले छोडेर हिडेका थिए । त्यसैले पनि विजयलाई पास हुन्छु भन्ने आशा थिएन, तर उनी पास भए । तर शारीरिक परिक्षा उनको लागि कठीन बन्यो । उनले तेस्रो पटकमा उक्त परिक्षा पास गरेका थिए । दुई पटक फेल भएपछी विजय नेपाल गएका थिए । नेपाल गएतापनि उनको ध्यान त्यही परिक्षामा केन्द्रित थियो । त्यही समयमा नेपालमा रहंदा विवाह गरेका उनले नेपालमा पनि आफ्नो फिटनेस रुटिन बिग्रन दिएनन् । फलस्वरूप अष्ट्रेलिया आएपछि फेरी परिक्षा दिंदा उनी पास भए ।

सुरुमा ट्रेनिंगको लागि जानुपर्ने थियो । आमा बुवा तथा श्रीमतीलाई संगै अष्ट्रेलिया ल्याएका उनले परिवारलाई छोडेर ट्रेनिंगको लागि गए । ट्रेनिंगमा कठीन रुटिन, परिवारसंग छुट्टिनुपर्ने आदि कारण उनलाई कहिलेकाहीं नराम्रो लाग्थ्यो । तर त्यो ट्रेनिंगले विजयलाई आर्मी तर्फ आकर्षित गर्यो । उनले जिम्मेवारी बुझे, टिम वर्क बुझे, कठीनाइहरुको सामना गर्न सिके । कुनै पनि काम गर्दा भित्र मन देखि सन्तुष्ट नभएका विजय आर्मीमा सन्तुष्ट भए । ट्रेनिंग पछि घर नजिकै पोस्टिंग समेत भयो । बधाई दिनेहरु, आफूलाई प्रेरणाको रुपमा लिनेहरु, पहिला वास्ता नगर्नेहरु पनि सम्मान गरिरहेका देखेर उनलाई आफ्नो काम, त्यो समय सम्मको संघर्ष प्रति गर्व गरे । उनलाई महसुस भयो, ‘ बुवाले आफ्नो पाटो बेचेर दिएको पैसालाई मैले इज्जत दिएँ । आमाबुवाले म प्रति गरेको भरोसालाई जोगाएँ ‘ ।

आर्मीमा हरेक दिन नयाँ-नयाँ कुराहरु सिकाइन्छ । व्यक्तित्व विकासमा जोड दिइन्छ । हरेक दिन केही नयाँ कुरा सिक्न प्रेरित गरिन्छ । विजय सधै एउटा काममा मात्र टिकिरहन सक्दैनथे । उनी नयाँ नयाँ अनुभव बटुल्न चाहन्थे । त्यसैले पनि उनलाई लाग्छ कि, यो उनको लागि सबैभन्दा उपयुक्त क्षेत्र हो । आर्मीमा अंग्रेजी भाषा, स्थानीय लवज र बोलीचालीका शब्दले गर्दा उनलाई बुझ्न कठीन हुन्थ्यो । कहिल्यै बन्दुक नजिकबाट नदेखेका, नचलाएका विजयलाई बन्दुक बारे बुझ्न हिमाल चढ्नुभन्दा गाह्रो लाग्यो । बन्दुकको लागि लिइने परिक्षामा उनी तेस्रो पटकमा मात्र पास भएका थिए । तर उनले कहिल्यै हार मानेनन् । आर्मीमा गएपछि उनले सिकेको कुरा पनि यही हो , ” अझ बढी प्रयास गर । अहिले गरिरहेको भन्दा अझ बढी प्रयास गर्दा तिमी मर्दैनौ ” ।

२०१८ मा अष्ट्रेलियन आर्मीमा भर्ती भएका विजय महर्जन अहिले आफ्नो कामसंगै पारिवारिक जीवनसंग पनि सन्तुष्ट छन् । रेष्टुरेन्टमा कामको अनुभव भएका कारण उनले लजिस्टिक विभाग रोजे । पहिले गरेको काम र अहिलेको काममा केही समानता भएका कारण पनि आफूलाई सहज भएको उनी बताउँछन् । विजय भन्छन् , ” यो उमेर त मोज गर्ने समय हो । काम तीस वर्ष पछि गरौंला भनेर बस्दै नबसौं । काम गर्नासाथ सफल भइने होइन । अनुभवहरुले सफलता सम्म पुर्याउने हो । आफ्नो योजना बनाऔं, अनुभव बटुलौ । अष्ट्रेलियन आर्मीमा, प्रहरीमा पनि अहिले प्रसस्त अवसरहरु छन् ‘।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments