एजेन्सी । विश्व विजेता फ्रान्सले युरोकप फुटबल २०२० को छनौट चरणमा विजयी शुरुवात गरेको छ । युरोकपको साबिक उपविजेता फ्रान्सले समूह एच अन्तर्गत शुक्रबार राति भएको खेलमा माल्डोभामाथि ४–१ को सहज जित दर्ता गरेको हो ।

फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान, राफायल भाराने, ओलिभर जिरउड र केलियन एमबाप्पेले एक एक गोल गरे । माल्डोभाका लागि एमब्रोसले एक गोल फर्काएका हुन् ।

२४ औँ मिनेटमा ग्रिजम्यानको गोलबाट फ्रान्सले सुरुवाति अग्रता लियो । २७ औँ मिनेटमा भारानेले अग्रता दोब्बर पारे । ३६ औँ मिनेटमा जिरउडले गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ३–० को अग्रता लियो । यस्तै ८७ औँ मिनेटमा एमबाप्पेले राष्ट्रिय टिमका लागि एक गोल गरेका हुन् । ४–० ले पछि परेको माल्डोभाका लागि ८९ औँ मिनेटमा भ्लादिमिर एमब्रोसले एक गोल फर्काए ।

समूह एच अन्तर्गत शुक्रबार राति नै भएको खेलमा आइसल्याण्डले एन्डोरामाथि २–० को जित दर्ता गरेको छ । आइसल्याण्डको जितमा बिआर्नासन र क्आर्तनासनले एक एक गोल गरेका हुन् । अर्को खेलमा टर्कीले अल्बानियालाई पनि २–० ले नै हराएको छ ।

Comments

comments