काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बाट २४ खेलाडी सहभागी हुने भएका छन् ।

सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला एनआरएनएका खेलाडीले प्रतिस्पर्धा गर्ने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

खेलाडी बाहेक एनआरएनएबाट दुई प्रशिक्षक र चार निर्णायक पनि आठौं राष्ट्रियमा सहभागी हुने छन् । सबैभन्दा बढी करातेमा १२ खेलाडी छन् ।

पुरुषतर्फ करातेमा युएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खड्का तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिकारीले मकाउ तथा १७ औँ इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्ने छिन् ।

फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अष्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अष्ट्रेलियाबाट अमृत पौडेल र संरक्षक भूषण बज्राचार्य, गोल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा युएईका विक्की बुढा, सूर्य गिरी र हिरालाल श्रेष्ठ, एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा युएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापा मगरले सहभागिता जनाउने छन् ।

निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त ठोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत करातेका स्वर्णधारी सुनिल लामा र पर्शुराम घिमिरे छन् ।

वृहत राष्ट्रिय खेलकूदमा एनआरएनए टोली पहिलो पटक सहभागी हुन लागेको हो । आठौँ राष्ट्रियमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय आर्मी,प्रहरी,एपिएफ गरी ११ टिमको सहभागिता रहने छ ।

Comments

comments