मेलबर्न । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी अप्रिल २७ तारिखमा दोश्रो राष्ट्रिय उद्यमी सम्मेलन गर्ने भएको छ ।

सम्मेलनमा हालै नेपालमा लगानी गर्नका लागि सरकारसँग गरेको सम्झौताका बारेमा पनि एनआरएन आईसीसीले स्पष्ट पार्ने भएको छ । तीन सयको सहभागिता रहने उद्यमी सम्मेलनमा पाँच जना अष्ट्रेलियन सफल उद्यमीहरुले आफ्नो प्रस्तुतिमार्फत व्यवसायिक सीपको विषयमा ज्ञान दिने एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले बताउनुभयो ।

त्यसैगरी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले, न्यूसाउथवेल्सका अवैतनिक महावाणिज्यदूत एवं कलेज सञ्चालक दिपक खड्का लगायतले पनि सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । अष्ट्रेलियामा विजनेस पढिरहेका विद्यार्थीहरुलाई यहाँको औद्योगिक वातावरण, व्यापार व्यवसायमा गर्न सकिने कामहरुको विषयमा पनि जानकारी दिने सम्मेलनको उद्देश्य छ ।

अघिल्लो पटक भएको राष्ट्रिय उद्यमी सम्मेलनबाट नेपालमा लगानी समेत गएको बताउँदै प्रवक्ता खरेलले अष्ट्रेलियाको एक होम लोन कम्पनीले नेपालमा कल सेन्टर स्थापना गरेर काम गरिरहेको जानकारी दिनुभयो । यस्तै नेपाली उद्यमी मेघराज श्रेष्ठले नेपालमा सुरु गरेको कृषि उद्योगमा अन्य अष्ट्रेलियन लगानीकर्ता समेत आकर्षित भएर सहकार्य गरिरहेको उहाँले बताउनुभयो ।

सम्मेलनमा व्यवसायीहरुलाई सामाजिक सञ्जालको प्रयोग गरी कसरी सफल हुन सकिन्छ भन्ने छुट्टै सेसन समेत हुने बताइएको छ ।

Comments

comments