काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत शनिबार किङ्स इलाभेन पन्जाबलाई हराउँदै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ ।

पाँचौ चरणको खेलमा पञ्जाबलाई चेन्नईले २२ रनले पराजित गरेको हो। चेन्नईले दिएको १ सय ६१ रनको मध्यम लक्ष्य पञ्जाबले भेटाउन सकेन। पञ्जाबले पुरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।

पन्जाबका सर्फराज खानले ६७ र केएल राहुलले ५५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। ओपनर क्रिस गेल ७ बल खेल्दा ५ रनमै आउट भएपछि सुरुदेखिनै पञ्जाब दवावमा आएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेल्दा कप्तान महेन्द्र सिंह धोनीले अविजित ३७ तथा अम्बाती रायाडुले अविजित २१ रन बनाए । शेन वाट्सन २६ रनमा आउट हुँदा सुरेश रैनाले १७ रन बनाए । पन्जाबका रविचन्द्र आश्विनले ३ विकेट लिए ।

जितसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ५ खेलबाट ८ अंक र ६ अंक सहित पन्जाब चौथो स्थानमा छ ।

Comments

comments