काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बहुचर्चित प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने माग उक्त दलकै नेताले गरेका छन्।

नेता भीम रावलले प्रारम्भिक रूपमा महासचिवबाट गल्ती भएको उनले बुझेको सङ्केत दिएको बिबिसीले उल्लेख गरेको छ । तर उनले त्यसबारे थप तथ्यहरू सङ्कलन गरिरहेको जानकारी दिएका छन्।

महासचिव पौडेलले सरकारी जग्गा आफ्नो परिवारको सदस्यले किनेको स्वीकार गरेका छन्। तर उनले त्यो जग्गा व्यक्तिबाट किनेको बताएका छन्। सांसद समेत रहेका केन्द्रीय सदस्यले मेटमणि चौधरीले छानबिन सहज बनाउन पौडेल स्वयम्‌ले पदत्याग गर्नुपर्ने अन्यथा पार्टीले निलम्बन गरेर छानबिन गर्नुपर्ने बताएको पनि बिबिसीले उल्लेख गरेको छ ।

‘उहाँ आफैले राजीनामा दिए छानबिन गर्न पार्टीलाई सजिलो हुन्छ। र नेपाली नेताले उच्च संस्कार र नैतिकता देखाउन सक्छन् भन्ने सन्देश पनि प्रवाह हुन्’ सांसद चौधरीको भनाई छ । त्यसो गर्न पौडेल तयार नभए उनलाई निलम्बन गर्नु पर्ने उनको धारणा छ।

‘निलम्बन गर्न सकिएन भने पार्टीको मातहतमा नेता रहने कि नेताको मातहतमा पार्टीलाई राख्ने? भन्ने प्रश्न उठ्छ। स्वाभाविक रूपमा लेनिनवादी पार्टी भएकाले नेतालाई पार्टी मातहतमा राख्नै पर्छ’, चौधरीको भनाई थियो ।

दोषी देखिए महासचिवलाई कारवाही गर्नुपर्ने अन्यथा पार्टी जोगाउन नसकिने र जनताको विश्वास पनि जगेर्ना गर्न नसकिने चौधरीले बताए । अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीले पनि सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीमाथि माथि कारवाही हुनुपर्ने उल्लेख गरे।

उनले भने, ‘नयाँ वर्षको दिन प्रधानमन्त्रीले सरकारी जग्गा कसैले आँखा लगाउन पाउँदैन, सबै फिर्ता हुन्छ, संलग्न कसैले छुट पाउँदैन भनेर जे बोल्नु भएको छ। त्यसमा हाम्रो साथ–समर्थन र सहयोग हुन्छ।’

सांसद चौधरीले पनि पार्टीले नै छानबिन समिति बनाउनु पर्ने बताए।

Comments

comments