काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजन अन्त्य तिर पुग्दै गर्दा शीर्ष चारमा पर्न टिमहरुबिच होड छ । चेल्सी, आर्सनल तथा म्यानचेस्टर युनाइटेड शीर्ष चारमा अटाउँदै आउँदो सिजनको च्याम्पियन्स लिग फुटबलका लागि स्थान सुरक्षित गर्न चाहन्छन् ।

लिग अन्तर्गत सोमबार राति भएको खेलमा जित निकाल्दै चेल्सी चौथो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले बर्नलीसँग २–२ को बराबरी खेलेको हो ।

बराबरीले उसलाई चौथो स्थानमा लगेको हो । चेल्सीका लागि एन’गोलो कान्टे र गोन्जालो हेगुइन तथा बर्नलीका लागि जेफ हेन्ड्रिक र एश्ली बार्नेसले गोल गरेका हुन् ।

दुई तर्फबाटै खेलको २४ मिनेट भित्रै गोल भएको हो । आठौँ मिनेटमा हेन्ड्रिकले गोल गर्दै बर्नलीलाई सुरुवाति अग्रता दिलाए । १२ औँ मिनेटमा कान्टेले चेल्सीका लागि बराबरी गोल गरे । १४ औँ मिनेटमा हेगुइनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

तर २४ औँ मिनेटमा बार्नेसले बर्नलीका लागि बराबरी गोल गरेका हुन् । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र खेल २–२ को बराबरीमा सकियो ।

चौथो स्थानमा पुगेको चेल्सीको ३५ खेलबाट ६७ अंक भएको छ । पाँचौँ स्थानमा झरेको आर्सनलको ३४ खेलबाट ६६ तथा छैटौँ स्थानको म्यानचेस्टर युनाइटेडको ६४ अंक छ ।

Comments