काठमाडौं । प्रदेश नं ५ को राजधानी र नाम सिफारिश गर्न बनेको विशेष समितिमा प्रदेशको नाम लुम्बिनी राख्ने गरी सहमति जुटेको छ।

विशेष समितिका सबैजसो सदस्य प्रदेशको नाम लुम्बिनी राख्न सहमत भएका छन् भने दुईजनाले मात्रै प्रदेशको नाम बुद्धभूमि राख्नुपर्ने तर्क गरेका छन्।

विशेष समितिको बैठकमा सुझावका आधारमा तयार भएको प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि भएको छलफलले प्रदेशको स्थायी राजधानीका लागि रुपन्देही र दाङको नाम प्रस्ताव गर्ने तयारी गरेको छ ।

विशेष समितिले बनाएका ६ वटा उपसमितिले तयार पारेको सुझावलाई समेटेर बनाएको प्रतिवेदन सभामुखलाई बुझाउनका लागि अन्तिम रुप दिने तयारी भइरहेको समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले बताए । जिल्लाहरुबाट लिएको सुझावलाई अन्तिम रुप दिएर उपसमितिले विशेष समितिमा बुझाएका छन् ।

विशेष समितिले सुझाव संकलनका लागि बनाएको उपसमिति सदस्यहरुमध्येका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मुल समितिका सभापति दीपेन्द्र कुमार पुन मगरलाई शनिबारको बैठकमा हस्तान्तरण गरेका हुन् ।

विशेष समितिको शनिबार बसेको बैठकले १२ जिल्लामा पुगेर संकलन गरेको सुझावका आधारमा प्रदेशको नाम लुम्बिनी राख्न सिफारिश गर्ने तयारी गरेको छ ।

सुझाव संकलनका क्रममा आएका सुझावअनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरु पनि सूचीमा राखिएको विशेष समितिका एक सदस्यले जानकारी दिए । सुझाव संकलनमा १३ सय १२ जनालाई प्रश्न सोधिएको थियो । त्यसमध्ये रुपन्देही र दाङले मात्रै संख्याको १० प्रतिशतभन्दा बढी मत पाएका छन् ।

Comments