मेलबर्न। अष्ट्रेलियामा आसन्न संघीय निर्वाचनमा लेबर पार्टीका बार्टन क्षेत्रका उम्मेदवार प्रमेज श्रेष्ठलाई निर्वाचित गराउन नेपाली समुदायले चासो देखाएका छन् ।

नेपाली मुलका श्रेष्ठको उम्मेदवारीले अष्ट्रेलियन सरकारमा नेपाली समुदायको आवाजको वैधानिक प्रतिनिधित्व हुनसक्ने यहाँका नेपाली समुदायको अपेक्षा रहेको छ ।

प्रमेज निर्वाचित भए अष्ट्रेलियाको सदनमा नै नेपालीको प्रतिनिधित्व हुने भएकोले यसले यहाँ बस्ने नेपाली समुदायलाई मात्र नभई अष्ट्रेलिया नेपालको सामरिक र सहायताको सम्बन्धमा पनि निक्कै प्रभाव पार्न सक्ने उनीहरुको विश्वास छ ।

त्यसैले अष्ट्रेलियाका नेपाली समुदायले प्रमेजलाई सहयोग गर्न सामाजिक सञ्जालमार्फत स्वःस्फुर्त अपिल समेत गर्न थालेका छन् । एक जना नेपालीले अपिल गरेका छन्,‘बार्टनमा यदि तपाईंको आफ्नो व्यक्तिगत तथा राजनीतिक आवद्धताका कारणले प्रमेज भाइलाई खुलेर समर्थन गर्न सक्नु हुँदैन भने पनि कृपया आफ्नो सक्रियतामा उनको प्रतिद्वन्दी उमेद्ववारका समर्थनमा खुला प्रचार अनि नेपाली सामुदायिक बिभिन्न खाले ईभेन्ट्स् नगरिदिनुहोला ।’

एक विद्यार्थी लेख्छन्,‘यहाँका समस्यासँग जुधेका नेपाली भएका कारणले प्रमेजको वैधानिक उपस्थितिले विद्यार्थीको मर्का कम हुनसक्छ भने नेपालबाट आउनेका लागि भिसा प्रक्रिया पनि सहज हुनसक्छ ।’

प्रमेजले जीत हासिल गरेको र उनी आवद्ध पार्टीको सरकार बनेको खण्डमा काठमाडौंमा नरहेको अष्ट्रेलियन दूतावासका लागि पनि उनको पहल हुनसक्छ । जसका कारण नयाँ दिल्लीको आश गर्नुपर्ने हुँदैन ।

हालै मात्र अष्ट्रेलिया सरकारले नेपाललाई दिँदै आएको सहयोगमा समेत केही कटौती गरेको छ । सांसदका रूपमा प्रमेजको उपस्थितिले त्यो अझ बलियो हुनसक्ने यहाँका नेपालीको अनुमान छ ।

Comments

comments