मेलबर्न। गैर आवासीय नेपाली संघले नेपाल सरकारको समृद्ध नेपाल,सुखी नेपालीको अभियानमा सहभागी हुने निर्णय गरेको छ ।

गैर आवासीय नेपाली संघ ओसेनियाको अष्ट्रेलियाको सिड्नीमा सम्पन्न तेस्रो क्षेत्रीय सम्मेलनले नेपाल सरकारले तय गरेका विभिन्न क्षेत्रमा एनआरएनको लगानी गर्न आवश्यक संयोजनकारी भूमिका खेल्ने निर्णय गरेको हो ।

गैर आवासीय नेपालीहरुको सामुहिक लगानीलाई नेपालको समृद्धीमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामुहिक लगानी फण्ड, जलबिद्युत लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता एनआरएनले जनाएको छ ।

शनिबारबाट सुरु भएको सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको हो । समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ भन्ने मूल नारामाथि आधारित सिड्नीमा चलेको बैठकमा नेपाल सरकारका न्याय, कानुन तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्य र अष्ट्रेलिया सरकारका केद्रीय अध्यागमन मन्त्री डेभिड कोलमनको विशेष उपस्थिति रहेको थियो ।

सम्मेलनमा एनआरएन अभियन्ता तथा महावाणिज्यदूत दिपक खडका, एनआरएनए पूर्व अध्यक्ष शेष घले, सल्लाहकार जमुना गुरुङ, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक लगायत एनआरएनए ओसेनीया क्षेत्रलगायत जापान, हंगकंगं, बेलायत, जर्मनी, अमेरिकालगायतका गरि तीन सय भन्दा बढीको सहभागिता थियो ।

त्यस्तैगरि, अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, , एनआरएनएन पूर्व प्रवक्ता रञ्जु वाग्ले थापा, सहकोषाध्यक्ष सोम सापकोेटा, एनआरएन अभियन्ता श्याम तामाङ, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसी, एनआरएनएन प्रवक्ता भूषण घिमिरे, यूरोपका संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारीलगायतको विशेष उपस्थिति थियो ।

बैठकले गरेका निर्णय : 

१ गैर आवासीय नेपालीहरुको सामुहिक लगानीलाई नेपालको समृद्धीमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामुहिक लगानी फण्ड, जलबिद्युत लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता यो बैठक गर्दछ ।

२  नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रबर्दन बर्ष २०१९’ अभियानलाई बिभिन्न प्रबद्र्धनात्मक कार्यक्रम संचालन गरि भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरियो ।

३  महिला शशक्तिकरण अभियानको थालनी र महिला उध्यमशीलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडी बढाउने निर्णय गरियो । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसा विरुद्ध जन चेतना अभियान संचालन गर्दै गैरआवासीय नेपाली अभियानको मुलधारमा महिला सहभागिताको सुनिश्चित गराउने निर्णय गरियो ।

४  गैरआवासीय नेपाली संघले Knowledge City / Academy को प्रस्तावलाई आत्मसाथ गरि कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रबिधीलाई नेपालको बिकासमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो ।

५ नेपाल र अष्ट्रेलियाबीचमा आपसी सहयोग सद्भावलाई कायम राख्नAussieMed Foundation Australia / Nepal Science Foundation, NRNA बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

६ ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनु पर्ने महसुश गरि आगामी दिनमा यसतर्फ बिशेष ध्यान दिनुका साथै यस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपाली भाषा सस्कार संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरियो ।

७ आवश्यक कानुन निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरीको सम्पूर्ण ब्यबस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्दछ ।

८  अष्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाज संग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको यो बैठक स्वागत गर्दछ ।

९ यो बैठक सफलता पुर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अष्ट्रेलिया सरकार, अष्ट्रेलियास्थित नेपाली दुतावास, सम्पूर्ण एनसिसिहरु आयोजक राष्ट्र अष्ट्रेलिया र प्रायोजकहरु स्वमसेवी पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

Comments

comments