सिड्नी । अष्ट्रेलियामा नेपाली समुदायको सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ ।

छन्त्याल परिवार अष्ट्रेलिया (सीपीए)को आयोजनामा यहि जुन ९ मा हुने सर्वाधिक धनराशीको ‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबल कप’ प्रतियोगिता हुन लागेको हो । सीपीएले आइतबार पत्रकार सम्मेलन एवम् सहभागि टिमका प्रतिनिधि बीच अन्तरसंवाद कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा पुरुष स्पर्धातर्फ १० टिम र महिला तर्फ ४ टिमले सहभागिता जनाउने सीपीएका खेलकुद संयोजक ह्यारी छन्त्यालले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो पटक सिड्नी शहर भन्दा बाहिर युनाइटेड गोर्खा ब्रिसवेनले समेत सहभागिता जनाउँने भएको छ । ‘सिड्नी बाहिरबाट समेत टिम आउने हुनाले प्रतिस्पर्धा अझ रोमाञ्चक हुने आयोजकले अपेक्षा गरेको छ ।

केहि समय अघि गठन भएको नेपाल भलिबल संघ अष्ट्रेलियासँगको सहकार्यमा अन्तराष्ट्रिय रेफ्री तथा अफिसियलहरुले खेल सञ्चालन गर्नेछन् । भलिबलको अन्तराष्ट्रिय मापदण्ड अनुसार खेल सञ्चालन हुनाले नेपाली खेलाडी कौशल अभिबृद्धिमा दीर्घकालीन फाइदा पुग्ने अपेक्षा सीपीएका अध्यक्ष पदम छन्त्यालले बताउनुभयो ।

प्रतियोगितामा पुरुष स्पर्धा तर्फ विजेताले २५ सय अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ सय अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, महिला तर्फ विजेताले ७ सय र उपविजेताले ४ सय अष्ट्रेलियन डलरसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेल पस्कने लिफ्टर, स्पाइकर, बलकर, लिब्रो र प्रशिक्षकलाई व्यक्तिगत विधातर्फ पुरस्कृत गरिनेछ ।

प्रतियोगिता अर्वन बास्केटबल सेन्टर लिडकममा हुनेछ ।

Comments

comments