एजेन्सी । आइसिसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत सोमबार राति सकिएको खेलमा आयोजक इंग्ल्याण्ड पाकिस्तानसँग अप्रत्यासित रुपमा पराजित भएको छ ।

पहिलो खेलमा जित निकालेको इंग्ल्याण्ड दोस्रो खेलमा भने पाकिस्तानसँग १४ रनले पराजित भएको हो । पहिलो खेलमा हारेको पाकिस्तानले इंग्ल्याण्डमाथि शानदार जित निकालेको हो ।

३४९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ९ विकेटको क्षतिमा ३३४ रन बनायो । उसका लागि जो रुटले १०७ र जोस बट्लरले १०३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । अरु खेलाडीले खासै राम्रो रन बनाउन नसक्दा इंग्ल्याण्ड पराजित भएको हो ।

पाकिस्तानका वाहब रिजले तीन तथा मोहम्मद आमिर र शादाब खानले दुई–दुई विकेट लिए । एक दिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्म यस्तो विशाल लक्ष्य कुनै पनि टिमले पूरा गर्न सकेका छैनन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा ३४८ रन बनायो । इङ्ल्यान्डविरुद्ध पाकिस्तानका तीन जना ब्याट्सम्यानले अर्धशतक बनाए।

मोहम्मद हाफिज शतक बनाउनबाट १६ रनले चुके । बाबर आजमले ६३ रन बनाए । कप्तान तथा विकेटकिपर सरफराज अहमदले ५५ रन बनाए । ओपनरद्धय इमाम उल हकले ४४ र फाखर जमानले ३६ रन जोडे। पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको पाकिस्तान कुनै पनि समय दबाबमा देखिएन ।

उसले तेस्रो विकेटका लागि ८८ र चौथो विकेटका लागि ८० रनको साझेदारी र्गयो। चौथो विकेटका रुपमा मार्क उडको बलमा क्याच आउट हुनुअघि हाफिजले ६२ बलमा दुई छक्का र ८ चौका प्रहार गरे ।

पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजसँग लज्जास्पद हार ब्यहोरेको थियो भने इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध शानदार जित हात पारेको थियो ।

Comments

comments