काठमाडौं । नेपालकालागि अष्ट्रेलियाली राजदूत पेट बुडले अष्ट्रेलियामा दुई प्राविधिक कलेजको दर्ता खारेज भएपछि अताल्लिएका नेपाली विद्यार्थीलाई पढाई नियमित राख्न आग्रह गरेका छन्।

खारेजीमा परेका इन्सिच्युटमाथि पुनरावलोकन भइरहेको उल्लेख गर्दै बुडले त्यसबारे अदालतबाट अन्तिम टुंगो नलाग्दासम्म कलेज छोड्नुपर्ने अवस्था नरहेको बताए।

अष्ट्रेलियाको एक नियामक एजेन्सीले भर्ना प्रक्रियासम्बन्धी आवश्यक मापदण्ड पूरा नगरेको भन्दै अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) र अष्ट्रलियन इन्सिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी—इन्टरनेसनल (एआइबिटी— इन्टरनेसनल) को दर्ता खारेजी गर्ने निर्णय गरेको थियो।

बुडका अनुसार उक्त निर्णयबाट ती दुई प्राविधिक कलेजमा अध्ययनरत करिब ९ सय नेपाली विद्यार्थी प्रभावित भएका छन्। निर्णय आगामी जुन १९ देखि लागू हुँदैछ।

‘एआइबिटी र एआइबिटी— इन्टरनेसनल माथिको कारवाहीउपर समीक्षा भइरहेको छ। अहिले भिसा प्रक्रिया बमोजिमका सर्त पालना गर्न विद्यार्थीलाई आग्रह गर्छौ,’ राजदूत बुडले भने।

उनका अनुसार भिसा प्रक्रियाअनुसार विद्यार्थीले पढाई जारी राख्नुपर्छ भने अन्यत्र भर्ना गर्न मिल्दैन। साथै, नियमअनुसार हप्तामा २० घण्टाभन्दा बढी काम गर्न हुँदैन।

अदालतबाट ती इन्स्च्यिुटमाथिका कारबाही सदर भए विद्यार्थीले पढ्न बाँकी अवधिको शुल्क फिर्ता पाउने उनले जानकारी दिए। भिसाका सर्त पालना नभए पढ्न बाँकी अवधिको रकम फिर्ता हुन नसक्ने पनि उनले बताए।

Comments

comments