काठमाडौं । नेपालमै पहिलो पटक स्वास्थ्य उपचार गर्न ड्रोन प्रविधिको प्रयोग गरिएको छ। प्युठान जिल्लामा क्षयरोग परीक्षण गर्न सुरु गरिएको यो प्रयोग एसियामै पहिलो भएको दाबी गरिएको छ।

प्युठान जिल्लाको स्वर्गद्वारी र प्युठान नगरपालिकामा रहेका सम्भावित क्षयरोगीको खकारलाई ड्रोनबाट सदरमुकाम पुर्‍याएर परीक्षण सुरु गरिएको हो। जिल्लामा सन् २०५० सम्म क्षयरोग उन्मुलन गर्ने हेतुले जेठ १९ देखि नयाँ प्रविधिलाई भित्रयाइएको हो।

‘ड्रोनको प्रयोगबाट क्षयरोगीको खकार परीक्षणको पाइलट प्रोजेक्ट सुरु गरिएको हो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथा स्वास्थ्य महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले भन्नुभयो ।

कसरी काम गर्छ ड्रोनले

ड्रोनलाई एक यातायातको साधनको रुपमा प्रयोग गरिएको छ । यसले बिरामी भएको ठाउँबाट जिल्ला अस्पतालसम्म खकार पुर्‍याउने काम गर्छ।

गाउँका विभिन्न हेल्थपोष्टमा खकार जम्मा गरिएको हुन्छ। त्यहाँका स्वास्थ्यकर्मीले उक्त ड्रोनमा खकार हालिदिन्छन्। उक्त ड्रोन खकार बोकेर प्युठान जिल्ला अस्पताल र भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्छ। जहाँ दुई ‘जिन एक्सपर्ट’ मेसिन राखिएका छन्। यो मेसिन उच्चस्तरको भएको श्रेष्ठले बताउनुभयो। यसले ९५ प्रतिशतसम्म प्रतिफल दिन्छ।

अस्पतालमा रहेका स्वास्थ्यकर्मीले ड्रोनबाट खकार झिकेर उक्त मेसिनबाट परीक्षण गर्छन्। परीक्षणबाट क्षयरोग देखियो भने ड्रोन नै औषधी बोकेर फर्कन्छ। ड्रोन जहाँबाट उडेको थियो पुनः त्यही स्वास्थ्य चौकीमा पुग्छ। त्यहाँबाट विरामीले औषधी लिन्छन्।

औषधीलाई बक्समा हालेर पठाइएको हुन्छ। उक्त बक्स साधारण बक्स भने होइन् । उक्त बक्समा सेन्सर चिप्स राखिएको हुन्छ। उक्त चिप्स सेन्टर सर्भरसँग लिंक रहेको हुन्छ, जसबाट विरामीले बक्स खोले नखोलेको निगरानी अस्पतालले राख्छ।

एक दिन लाग्ने काम पाँच मिनेटमा

गाउँबाट अस्पतालसम्म पुग्न विरामीलाई केही घण्टादेखि एक दिनसम्म लाग्छ। तर, त्यही काम ड्रोनबाट गर्दा पाँच देखि १० मिनेटमा सकिने श्रेष्ठले बताए।

‘ड्रोनले विरामीको उपचार गर्न निकै ठूलो सहयोग गर्नेछ भन्ने आशा गरिएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘अस्पतालसम्म जान नमान्ने विरामीलाईसमेत यो प्रविधिबाट उपचार गर्न सम्भाव हुने देखिएको छ। ड्रोनबाट खबर पठाउने भनेपछि स्थानीयलाई सकारात्मक सन्देश गएको छ।

ड्रोनको प्रयोगले स्थानीयलाई सजिलो हुने र यसले स्वास्थ्य उपचार गर्न सहयोग गर्न सकिने उद्देश्यले यो सेवा सुरुवात गरेको श्रेष्ठको भनाइ छ।

कस्तो छ ड्रोन

यो एक मध्यमस्तरको ड्रोन हो। यसले सात किलोसम्म बोक्न सक्छ। दुई किलोमिटरसम्म माथि उड्न सक्ने यो ड्रोन १५ किलोमिटरसम्म टाढा पुग्न सक्छ।

ड्रोन खकार परीक्षणको लागि मात्र नभएर अन्य धेरै काममा पनि प्रयोग भइरहेको श्रेष्ठले बताउनुभयो । शान्ति सुरक्षाको लागि निगरानी राख्न, फोटो खिच्न समेत यसको प्रयोग गरिएको छ।

श्रेष्ठले यो प्रयोगलाई एसियाकै पहिलो भएको दाबी गर्नुभयो । उहाँकाअनुसार यस्तै किसिमको प्रयोग अफ्रिकामा भइरहेको छ। अफ्रिकामा गरिएको प्रयोग सफल भएपछि नेपालमा पनि त्यसैको अनुसरण गरिएको उहाँले बताउनुभयो ।

प्युठानमा सुरु गरिएको कार्यक्रमका लागि निक साइमन फाउन्डेसनले आर्थिक सहयोग गरेको छ। बेलायतको लिभपुल स्कुल अफ ट्रिपिकल मेडिसिन र स्टोनी ब्रुक युनिभर्सिटीको प्राविधिक सहकार्यमा यो सेवा सम्भव भएको छ। यो सेवा सुरु गर्न बिराट नेपाल मेडिकल ट्रस्टको सहयोगमा ड्रोन नेपाललले ड्रोनलाई सञ्चालन गरिरहेको छ।

Comments

comments