मेलबर्न । अष्ट्रेलियाको सिड्नीबाट प्रसारण भएको एक नेपाली टेलिभिजन कार्यक्रमले अष्ट्रेलिया र नेपालमा केही समय सनसनी मच्च्यायो ।

नेपाली टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासंग’ कार्यक्रमको एउटा भाग सिड्नीबाट प्रसारण भएको थियो । उक्त भागमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुले एनआरएनए अष्ट्रेलियाबाट अपेक्षित सहयोग नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए । कार्यक्रम संचालक रवि लामिछाने समक्ष विद्यार्थीहरुले एनआरएनएले आफूहरुको दु:ख बुझ्न नसकेको गुनासो गरे ।

कार्यक्रम प्रसारण पछि नेपालबाट मात्र नभएर विदेशबाट पनि धेरैले एनआरएनएमाथि प्रश्न उठाए । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले भने विद्यार्थीले संस्थालाई गाली गर्दा आफूलाई खुशी लागेको बताउनुभएको छ ।

हिमालयन कंगारुसंगको कुराकानीमा अध्यक्ष घोतानेले भन्नुभयो, ” संस्थाका धेरै साथीहरु विद्यार्थीहरुको त्यो आक्रोश देख्दा दु:खी हुनुभयो । तर मलाई भने खुशी लाग्यो । त्यस कार्यक्रमबाट थाहा भयो, घरपरिवार देखी टाढा आएका नेपाली विद्यार्थीले हामीलाई यहाँ आफ्नो परिवार, आफ्नो अभिभावक ठान्दा रहेछन् । हामीहरुमाथि उनीहरुको भरोसा, आशा रहेछ” । उहाँले थप्नुभयो , ” हामीले अप्ठ्यारो समयमा त्यही व्यक्तिलाई सम्झिन्छौँ, जसमाथी हाम्रो आशा र भरोसा हुन्छ । विद्यार्थीहरुले अरु सरकारी निकाय तथा गैरसरकारी संस्थालाई भन्दा पहिले हामीलाई सम्झिए । र, म यसअर्थमा पनि खुशी छु कि उनीहरुका प्रश्नहरुले हामीलाई मार्गनिर्देश गरे । हामीले गरिरहेका काम अझ प्रयाप्त छैनन् र हामीले अझ धेरै गर्नु छ भन्ने महसुस गराए ” ।

टोनु घोतानेकै कार्यकालमा एनआरएनए अष्ट्रेलियाले विद्यार्थीहरुको लागि हेल्प डेस्क सुरु गरेको छ । यस्तै नयाँ विद्यार्थीहरुका लागि सिपमुलक तालिम समेत संचालन भइरहेको तथा विपदको समयको लागि वेलफेयर फण्डको स्थापना गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ” एनआरएनए अष्ट्रेलियाले नेपालको बारेमा सोंच्नुभन्दा पहिले अष्ट्रेलियामा रहेका विद्यार्थी लगायतको नेपाली समुदायको बारेमा सोंच्नुपर्छ भन्ने मेरो पहिले देखिको मान्यता हो । यसैअनुरुप हामीले काम गरिरहेका छौं र आगामी कार्यकालका साथीहरुले पनि यसलाई निरन्तरता दिनुहुनेछ भन्नेमा म विश्वस्त छु “।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments