भक्तपुर  । भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने भएको छ ।

भक्तपुरले एसइईभन्दा माथिल्लो तह अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन लागेको हो । यस्तो ऋण विद्यार्थीले अध्ययन पूरा भएको चार वर्षभित्र फिर्ता गरिसक्नुपर्नेछ । मेयर सुनील प्रजापतिले आइतबार शैक्षिक ऋण वितरण कार्यक्रमको शुभारम्भ गरे । ‘गरिबीकै कारण उच्च शिक्षा पढ्न नपाउने अवस्था नबनोस् भन्ने ध्येय हो । गरिब, दलित र किसान परिवारलाई कार्यक्रमले लाभ मिल्छ,’ उनले भने ।

आफ्नै लगानीमा शैक्षिक संस्थासमेत सञ्चालन गरेको भक्तपुर नगरपालिकाले शैक्षिक ऋण कार्यक्रम सञ्चालन गर्न ‘भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका’ जारी गरेको छ । निर्देशिकाबमोजिम वडा कार्यालयमार्फत प्रक्रिया पु-याई आवेदन गर्नेलाई ऋण दिन थालिएको मेयर प्रजापतिले बताए । कार्यक्रम लागू गरिएको पहिलो वर्ष ऋण लिन ३५ जनाको आवेदन परेको छ । उनीहरूलाई चालू आर्थिक वर्षबाटै ऋण दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले बताए ।

अधिकारीका अनुसार पहिलो वर्ष चिकित्सा शिक्षा, इन्जिनियरिङ, नर्सिङ, कम्प्युटर इन्जिनियरिङ र कला, संस्कृति विषयमा पढ्ने विद्यार्थीलाई ऋण दिने निर्णय भएको छ । चालू आर्थिक वर्षमा छात्रवृत्ति तथा शैक्षिक ऋण कार्यक्रमका लागि नगरपालिकाले एक करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक क्षेत्रमा लगानी बढाएको मेयर प्रजापतिको भनाइ छ । ‘नगरपालिका आफैँले ख्वपः विश्वविद्यालय सञ्चालन गर्ने अनुमतिको प्रयास गरिरहेको छ, विश्वविद्यालय खोलेर समाजलाई बुद्धिजीवीकरण गर्ने लक्ष्य छ,’ उनले भने । उनले चिकित्सा क्षेत्रमा जनशक्ति अभाव भएकाले निश्चित सर्त राखेर नगरपालिकाले बर्सेनि दुईजनालाई डाक्टर पढ्न छात्रवृत्ति दिनेसमेत तयारी गरिरहेको बताए ।

यस्तो छ ऋण लिने प्रक्रिया

ऋण लिन चाहने विद्यार्थी नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्छ । एसइईभन्दा माथिल्लो जुनसुकै तह अध्ययनका लागि ऋण लिन सकिन्छ । ऋण लिएर विद्यार्थीले सरकारले अनुमति दिएको शैक्षिक संस्थामा अध्ययन गर्न पाउँछन् । विपन्न र जेहेनदार विद्यार्थीले वडा कार्यालयमा आवेदन दिएपछि आवेदकको वास्तविक अवस्था हेरेर वडाध्यक्षले नगरपालिकालाई सिफारिस गर्छन् । नगरपालिकाले एकाघरका दुईजना साक्षी राखेर विद्यार्थीसँग ऋण सम्झौता गर्छ । तर, नगरपालिकाले दिने ऋणबापतको रकम एकमुष्ट भुक्तानी हुँदैन ।

ऋणबापतको रकम ऋणी र ऋणीको परिवारलाई नदिई आवश्यकताअनुसार शैक्षिक संस्थालाई भुक्तानी दिने निर्देशिका बनेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । ‘ऋण रकमबाट कलेजले लिने शुल्क मात्रै तिर्न मिल्छ, सो रकम विद्यार्थीले आवश्यक पर्ने पोसाक र शैक्षिक सामग्रीमा खर्च गर्न पाउँदैनन्,’ अधिकारीले भने । ऋण लिने विद्यार्थीले पढाइ पूरा गरेपछि क्रमशः चार वर्षभित्र ब्याजसहित भुक्तानी गर्नुपर्छ ।

पढाइ सकिएको पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष बर्सेनि २५–२५ प्रतिशतका दरले भुक्तानी गर्नुपर्नेछ ।  भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा सातवटा शैक्षिक संस्थासमेत सञ्चालन गरिरहेको छ । नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा मावि र शारदा क्याम्पस सञ्चालन गरिरहेको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कक्षा १, २, ६ र ७ मा पठनपाठन गरिरहेको छ ।

Comments

comments