काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद रामविर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै सुचना प्रविधि तथा संञ्चारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिनुपर्ने बताउनुभएको छ ।

शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सांसद मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा मन्त्री बास्कोटाले आगोमा घ्यु थप्ने अभिव्यक्ति दिएको भन्दै राजीनामा दिनुपर्ने तर्क गर्नुभयो ।

सांसद मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए काठमाडौमा आन्दोलन चर्काउने चेतावनी समेत दिनुभयो । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने बताउनु भयो ।

कार्यक्रममा संस्कृतिविद् डाक्टर गोविन्द टण्डनले सरकारले सबैको सहमतिमा राष्ट्रिय गुठी आयोग गठन गरेर निजी र सार्वजनिक गुठी संञ्चालन गरि सम्पदाको संरक्षण गरि परम्परालाई कायम राख्नुपर्ने बताउनुभयो ।

Comments

comments