काठमाडौँ । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?”

तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो । दशैँमा टीका थाप्ने कक्षसँगै जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ । दरबारभित्रका विभिन्न कक्ष सर्वसाधारणका लागि खुला गरिए पनि सिनेमा हललाई भने खुला गरिएको छैन ।

त्यतिबेला उपत्यकाका सिनेमा हलबाट ‘हाफ टाइम’मा सिनेमाका रिललाई दरबारतर्फ कुदाइन्थ्यो । रिलको व्यग्र पर्खाइमा राजपरिवार सिनेमा हलमा बस्थे । कर्मचारीहरूले हस्याङफस्याङ गरी दरबारभित्रको सिनेमा हलमा पु¥याइएको रिललाई हतारिँदै प्रोजेक्टरमा राखेर चलाउँथे । यता ‘हाफ टाइम’को रिल सकिँदा उता सिनेमा हलमा ‘हाफ टाइम’ पछिको भाग सकिन्थ्यो । त्यसलाई फेरि हतारिँदै दरबारतर्फ कुदाइन्थ्यो । दरबारमा हेरिसकेको रिललाई पुनः हतारिँदै सिनेमा हलमा फर्काइन्थ्यो ।

दरबारका पूर्वकर्मचारी जयराम महर्जनले त्यो बेलाको दृश्यलाई यसरी स्मरण गरे, “छोटो दूरी थियो, त्यसैले ल्याउन सजिलो हुने भएकाले प्रायः जयनेपाल सिनेमा हलबाट रिल ल्याइन्थ्यो । कर्मचारीहरू सतर्क अवस्थामा रहन्थे । सिनेमा हलमा रिल सकिनासाथ दरबारतिर ल्याइन्थ्यो । ”

विसं २०२६ मा बनेको नारायणहिटी दरबारभित्रको हलमा ५४ वटा कुर्सी र पाँचवटा सोफा राखिएका छन्् । सोफामा तत्कालीन राजपरिवारका महत्वपूर्ण सदस्य मात्र बस्न पाउँथे । धूलो पर्ने भएकाले अहिले ती सोफा छोपेर राखिएका छन् भने अन्य कुर्सी त्यत्तिकै छन् ।

Comments

comments