पोखरा । पोखरामा सक्रिय गायिकाहरूको संस्था ‘हार्मोनीः द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले असार २१ गते शनिबार विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाली सांगीतिक क्षेत्रका दुई लोकप्रिय स्वरहरूलाई ट्रिब्युट गर्दै आयोजना गर्न लागिएको ‘टेस्ट अफ हार्मोनीः धुनहरूमा तारादेवी र अरूणा लामा’ शीर्षकको कार्यक्रममा पोखरेली गायिकाहरूले उनिहरूलाई सम्झने छन्।

कार्यक्रमा उनै तारादेवी र अरुणा लामाका कालजयी गीत प्रत्यक्ष रुपमा गाइने छ। कार्यक्रम पोखराको सभागृहमा दिउँसो १ बजेबाट प्रारम्भ हुने आयोजक संस्थाकी अध्यक्ष तथा गायिका ईतु जोजिजुले जानकारी दिइन्।

अध्यक्ष जोजिजुले नेपाली सांगीतिकक क्षेत्रका दुई नक्षत्रप्रति समर्पीत भई यस कार्यक्रमको आयोजना गरेको भन्दै नेपाली गीतसंगीतका दर्शक स्रोताका लागि कार्यक्रम विशेष हुने विश्वास लिएको बताइन्।

कार्यक्रममा संस्थामा आवद्ध सम्पूर्ण गायिकाहरू ईतु जोजिजु, कौशल्या गुरूङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरूङ, लक्ष्मी गिरी, स्नेहा गुरूङ, सबिना सुनाम, रूमा तुप्रिहाङ थापा, एलिना गुरूङलगायतले आ–आफ्नो विशेष प्रस्तुती दिनेछन्।

कार्यक्रममा पोखराकै लोकप्रिय गायकहरू कर्ण दास, रामभक्त जोजिजु, बिनोद बानियाँ र ज्ञान थापाले पनि साथ दिने छन्।

यसैबीच आयोजक संस्थाले तीन गायिकालाई सम्मान गर्ने भएको छ। दार्जीलिङकी गायिका दावा ग्याल्मो, गायक कर्ण दासकी आमा तथा कलाकार रत्न दासलाई उनिहरूले गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिने छ। यस्तै गायिका जोनिशा पौडेललाई प्रोत्साहन सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।

सांगीतिक क्षेत्रमा क्रियाशिल महिलाहरूको यस संस्थाले यसअघि पनि विभिन्न सांगीतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ।

Comments

comments