काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त हुनुभएको छ ।

ताप्लेजुङका प्रतिनिधिसभा सदस्य भट्टराईले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको शपथ लिनुभएको हो । भट्टराईले राष्ट्रपतिदेवी विद्या भण्डारीबाट शीतल निवासमा आज आयोजित समारोहमा पद तथा गोपनियताको शपथ लिनुभयो । कास्कीबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रिक्त थियो । ठीक पाँच महिनापछि आज साउन १५ गते भट्टराई मन्त्री नियुक्त हुनुभएको हो । रिक्त मन्त्रालय प्रधानमन्त्री केपी ओली आफैँले सम्हाल्दै आउनुभएको थियो । सरकारको काम कारबाही प्रभावकारी नभएको र मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले पर्यटनमन्त्रीमात्रै पूर्ति गर्नुभएको हो ।

२०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भट्टराई एमाले–माले विभाजन भएका बखत माले निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय अध्यक्ष निर्वाचित हुनुभएको थियो । २०४६ सालमा पञ्चायत विरोधी आन्दोलनका क्रममा पक्राउसमेत गर्नुभएका भट्टराई पार्टीभित्र उदीयमान नेताका रूपमा परिचित हुनुहुन्छ । २०७४ सालको संसदीय चिनर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भट्टराई संसदीय सुनुवाई विशेष समितिका सदस्यसमेत हुनुहुन्छ ।

Comments