विशेष । रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र चाड हो । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिनमा हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्दछन् । बिशेषतः ब्रामह्ण क्षेत्री जातिका वर्तवन्ध गरेका अथवा जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । तागाधारी (जनैधारी) हरुले यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गर्दछन् ।

यस दिन नेपालमा ब्रामह्णहरू नुहाई–धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो, जसलाई रक्षा बन्धन भनिन्छ, त्यसलाई बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षा बन्धन बाँधेर टिका लगाईदिने गर्छन । त्यसको बदलामा मान्छेहरूले पुरोहित, ज्वाई, भानिज र बामह्णहरुलाई रूपयाँ पैसा दिने गर्छन ।

रक्षाबन्धन के हो ?

येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी धागो/डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा हिन्दु धमावलम्वीबीच आज पनि त्यत्तिकै प्रचलित छ । समयको परिवर्तनसंगै तागाधारी (जनैधारी) हरुको संख्या घट्दै गएपनि जनैपूर्णिमाको दिन भने मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणले यजमानको नाडीमा बाँधिए रक्षा हुन्छ भन्ने प्रचलनलाई सबैले स्विकार गरेकै छन् ।

यसैगरी जनैपूणीमाकै दिन देह शुद्ध गरी देवता, सप्तषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले पनि चिनिन्छ । यस दिन सप्तषिद्र्वारा कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । आजको दिन एघारथरीका गेडागुडी मिर्साई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वषार्का कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

जनैपूर्णिमाको दिन रसुवाको गोसाईंकुण्ड, मणिजूड दह र ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँच पोखरी, गोरखाको नारद पोखरी, गोरखा र लमजुङ्को सिमानामा पर्ने पवित्र धार्मिक स्थल दुधपोखरी लगायत देशभरका मठ, मन्दिर र कुण्डहरुमा मेला लाग्ने गदर्छ ।

यस पर्वको पौराणिक कथा :

पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराजबीच १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र जप्नुहुन्छ ।

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।

तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधे र जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । त्यही रक्षासूत्रको सम्झना गर्दै रक्षाबन्धन बाँध्ने प्रचलन रही आएको छ । हिन्दु परम्पराअनुसार नेपालको पश्चिमी जिल्ला म्याग्दीका पूर्जा, तिलिजा, रञ्जिता तथा गर्वुजा थरका मगरहरु पनि जनै पूर्णिमाका दिन जनै धारण गर्दछन् । यहाँका मगरहरु जन्मदेखि मृत्यु पर्यन्तका कर्म हिन्दु परम्परा अनुसार गर्ने र ब्रतबन्ध पनि सामूहिक तथा एकल गर्ने चलन रहेको छ । प्रथम विश्वयुद्धमा ब्राह्मण, क्षेत्री र मगरहरुको मुसलमानले जनै फालिदिएपछि मगरजातिमा जनै धारण गर्ने क्रम रोकिएको मगरहरुको भनाइ छ ।

अर्को एक कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । त्यसै अनुरुप यस दिन यमदुत र यमुनाको कथा अनुसार दिदी बहिनीले दाजुभाईलाई राखी बांध्ने प्रचलन पनि चल्दै आएको छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

नयाँ जनै लगाउने मन्त्र :
यज्ञोपवितं परमं पबित्रम, प्रज्ञापतेर्यत्सहजम पुरास्तात
आयुष्यार्मग्नम प्रतिमुन्च शुभ्रम, यज्ञोपवितं बलामस्तु तेज

हातमा डोरो/रक्षाबन्धन बाँध्ने मन्त्र
येन बद्धो बलि राजा दानबिन्द्रो महावल
तेन त्वं प्रति बध नामी रक्षे मा चल मा चल

नेवार समुदायमा ‘गुन्हु-पुन्ही’

आजको दिन नेवार समुदायमा ‘गुन्हुपुन्ही’ भनी मनाइने परम्परा छ । विभिन्न प्रकारका स्वरबाट वर्षा र खेतीको कामबारे कृषकलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई ढापमा जाकिदिएकाले नेवार समुदायमा आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments