काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न चाहने जो कोहीले त्यो भन्दा अघि ६ हजार पाँच सय मिटर उचाईको हिमाल आरोहण गर्नु पर्ने नियम लागु गर्न सुझाव दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको पर्वतीय पर्यटन सुधार सुझाव समितिले तयार पारेको प्रतिवदेनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण पूर्व जो कोहीले पनि ६ हजार पाँच सय मिटर भन्दा अग्ला हिमालको आरोहणको व्यवस्था गर्न सुझाव दिइएको छ ।

यो वर्षको आरोहण सिजनमा सगरमाथामा आरोहीको लामो लाइन अर्थात जाम परेको र त्यसका कारण केही आरोहीको मृत्यु भएको खबर राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएपछि सरकारले सुझाव समिति गठन गरेको थियो ।

समितिले यो सिजन मृत्यु भएका आरोहीको निधनको कारण जाम नभइ प्रतिकूल मौसम र हाइअल्टिच्यूट का कारण भएको निष्कर्ष निकालेको छ ।

तर सुरक्षात्मक उपायका लागि आरोहीले सगरमाथाको आरोहण अनुमति पाउनु पूर्व ६५ सय मिटर उचाईको हिमाल चढेको हुनु पर्ने सुझाव दिइएको छ । यस्तो सुझाव दिनुको कारण आरोहीको शारीरिक क्षमता तथा आरोहण अनुभवका लागि हो ।

सगरमाथा आरोहणको क्रममा यो वर्ष ११ जनाको ज्यान गयो, जसमा नेपाल तर्फबाट गएका ९ जना छन् । तिब्बत तर्फबाट गएका दुईजनाको ज्यान गएको हो । ज्यान गएका मध्ये चार जनाको मृत्युको कारण ट्राफिक जाम रहेको बताइन्छ । तर नेपालले त्यो कुरा अस्वीकार गर्दै आएको छ ।

हालसम्म नेपालमा सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार अमेरिकी डलर तिरे पुग्ने गरेको छ।

Comments