काठमाडौं । यू–१५ साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । भारतको कोलकत्तास्थित कल्याणीमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल, भारत, बंगलादेश, भुटान र श्रीलंकासहित कुल ५ देश सहभागी प्रतियोगितामा दोस्रो स्थानमा रहँदै नेपाल फाइनल पुगेको हो । भारतविरुद्धको लिग चरणको खेलमा नेपालको प्रदर्शन विर्सनलायक थियो । पहिलो खेलमै भारतको सामना गरेको नेपालले ५–० को लज्जास्पद हार बेहोरेको थियो । तर, त्यसपछि नेपालले क्रमश लय समात्दै गएको छ । त्यसैले फाइनलमा भारतलाई जित निकाल्न त्यति सहज भने हुने छैन ।

पहिलो हारपछि लगातार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । नेपालका खेलाडी पहिलो खेलको बदला फाइनलमा लिने दाउमा रहेका छन् । तर, प्रतियोगिताभर अपराजित रहेको भारतलाई पराजित गर्न त्यति सहज भने हुने छैन ।

पहिलो खेलमै नेपाललाई सजिलै पराजित गरेको भारतले दोस्रो खेलमा भुटान, तेस्रो खेलमा श्रीलंका र अन्तिम खेलमा साविकको विजेता बंगलादेशलाई पराजित गरेको थियो ।

Comments