काठमाडौ । नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय निर्वाचनको मिती तय भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्वतन्त्र कमिटिका प्रतिनिधि सहितको बैठकले क्यान निर्वाचनको मिति असोज १० र ११ गतेलाई तोकेको हो । केन्द्रिय निर्वाचनमा प्रक्रियागत समस्या देखिएपछि विवाद समाधानका लागि आईसीसीका प्रतिनिधि छलफल गर्न आईतबार नेपाल आएका थिए । आईसीसीका ईमरान ख्वाजा र अमर शेख सहितको टोलीले आज राखेप सदस्य सचिव रमेश सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसंग छलफल गरेका थिए । सोही अनुसार बैठकले क्यानको केन्द्रिय निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादीत तरिकाले सम्पन्न गर्ने निर्णय गरेको छ । दुवै पक्षको सहमतीमा केन्द्रिय निर्वाचनको मिति तय भएको राखेप सदस्य सचिव सिलवालले बताउनुभयो ।

सदस्य सचिव सिलवालले राखेपको सहमती बिना हुने निर्वाचनलाई मान्यता नदिने भन्दै स्वतन्त्र कमिटिले असोज ३ र ४ गतेका लागि तय गरेको निर्वाचनको सूचना फिर्ता लिन निर्देशन दिएका थिए । सदस्य सचिवको निर्देशनसंगै असोज ३ र ४ गतेको निर्वाचन अन्यौलमा परेको थियो ।क्यानको स्वतन्त्र कमिटिले यसअघिनै जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरिसकेको छ ।

Comments

comments