काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहनेछ ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७६ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शनका साथै काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरिएको छ ।

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिएको छ । साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । संविधान दिवसका अवसरमा प्रदेश २ वाहेकका सबै प्रदेश सरकारले पनि छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि भव्यताका साथ यो दिवस मनाउदैछन् ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिदैछ । त्यसक्रममा आजदेखि तीनदिनसम्म दीपावली गरिने सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ । संविधान दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

Comments